२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

नौ तस्बिरमा हेर्नुहोस्, रुकुमको डिग्रे मेला

हरि गौतम

रुकुम (पश्चिम) — जिल्लाको मुसीकोट नगरपालिका-५, थर्पुमा रहेको डिग्रे शाइकुमारीको मन्दिरमा यस वर्षको डिग्रे मेला शनिबार लागेको छ । भगवती देवीको मागअनुसार नै डिग्रेमा मेला लाग्ने गरेको विश्वास गरिन्छ ।

जिल्लाको मुसीकोट नगरपालिका-५, थर्पुमा रहेको डिग्रे शाइकुमारीको मन्दिरमा यस वर्षको डिग्रे मेला शनिबार लागेको छ ।

भगवती देवीको मागअनुसार नै डिग्रेमा मेला लाग्ने गरेको विश्वास गरिन्छ । मन्दिर परिसरमा हरेक वर्षको हरिबोधनी एकादशीदेखि सुरु भइ पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्दछ । परापूर्वकालमा थर्पुका गौतमहरुले चराउन जंगल लिएका गाई देवीकै कारण घर आउन मानेका थिएनन् र देवीले गाईको दूध चढाउन आग्रह गरेकी थिइन् । गाईको दूध चढाइएपछि गाईलाई घर ल्याउन सकिएको किंबदन्ती छ । हरेक दिन गाईको दूध देवीको लागि चढाउनुपर्ने र हरेक एक वर्षमा देवीको वाण बाघको लागि बोकाको बली दिनुपर्ने तथा देवीको सुरक्षाको लागि जनजातिहरुले लठ्ठी नाँच नाँच्ने गरेको भनाइ स्थानीयको छ ।

दैनिकजसो पूजापाठ हुने हुनाले देवीलाई गाईको दूध पुगेको भए पनि देवीको वाणको लागि पनि मेला लाग्ने गरेको बताइन्छ । हालको मुसिकोट नगरपालिका तथा नगरपालिका घोषणा हुनु अघिको साँख गाविसबाट आउने मगर सगालहरुको लठ्ठी नाँच देवीको सुरक्षाको लागि भएको विश्वास गरिन्छ । धन, जन र अन्न वरदानको विशेषता बोकेको डिग्रे शाइकुमारी भगवती देवीको छत्रछायाँमा लाग्ने धार्मिक मेलाको महत्व बढ्दै गइरहेको छ । परापूर्वकालदेखि लाग्दै आएको यो धार्मिक मेलामा विशेष गरी पछिल्ला केही वर्षदेखि दर्शालुहरु बाक्लिन थालेका छन् । मनले चिताएको कुरा पूरा हुने तथा सन्तान प्राप्तिको धार्मिक विश्वासका साथ तीर्थयात्रीको संख्यामा वृद्धि भएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । धन, जन र वरदान मागेकाको इच्छा पूर्ति भएकाहरु दोहोर्‍याएर मन्दिर तथा मेला भर्न पुग्ने गर्दछन् ।

हरेक वर्षको कार्तिक पूर्णिमाको अवसर पारी लाग्दै आएको डिग्रे धार्मिक मेला सुरु भएको आधिकारिक जानकारी कतै रहेको पाइन्न । मन्दिर व्यवस्थापन समितिका अनुसार मन्दिरमा १६४१ सालको घन्ट छ । १६४१ सालको घन्ट भेटिए पनि मन्दिरमा पूजा, अर्चना दर्शन तथा मेला भर्ने कार्य भने त्यो अघिदेखि नै भएको मानिन्छ । मन्दिर व्यवस्थापन समिति अध्यक्ष लालबहादुर केसीले १६४१ सालको घन्ट भेटिए पनि मेलाको सुरुआत भने त्यो समयभन्दा अघि नै भएको अनुमान रहेको बताए ।

मन्दिर नजिकै रहेका पानीका धारामा मेलामा मान्छे बढेसँगै पानी पनि बढ्ने गरेको विश्वास छ । सदावहार पूजापाठ हुने भए पनि डिग्रे मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको तिथिमा विशेष महत्वका साथ देशका विभिन्न भूभागबाट मन्दिर दर्शन तथा मेला भर्नका लागि दर्शनार्थीहरु आउने गर्दछन् । हरेक हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्ने गर्दछ । एकादशीदेखि नै मन्दिरमा दर्शनार्थीहरुको भीड लाग्न थालीहाल्छ । पाँच दिनसम्म पूजापाठ गर्ने तथा मेला भर्नेहरुको संख्या निरन्तर उकालोमा हुन्छ । विशेषगरी मन्दिरमा शान्तिका लागि परेवा उडाइन्छ भने पूर्व भाकल गरेका तथा मागेको पुगेकाले बली चढाउने गर्दछन् ।

जिल्लामा धेरै आम्दानी गर्नेमध्येका डिग्रे शाइकुमारी मन्दिर पनि पर्दछ । मन्दिरको नाममा रहेको गुठीको जग्गा र हरेक वर्षको मेलामा दर्शनार्थीबाट चढाइएको भेटीबाट मन्दिरमा आम्दानी हुने गर्दछ । सिस्ने गाउँपालिका रुकुम पूर्वको धपेमा २७ रोपनी खेत मन्दिरकै नाममा छ भने वर्षेने ७ देखि ९ लाख रुपैयाँसम्म कार्तिक मेलाको अवसरमा भेटीस्वरुप मन्दिरमा जम्मा हुने गर्दछ । मन्दिर व्यवस्थापन समिति अध्यक्ष केसीले यस वर्षको ५ दिनको अवधिमा एक लाख बढीले मन्दिरको दर्शन गरेको तथा मेला भर्न पुगेको दाबी गरे ।

प्रकाशित : कार्तिक १८, २०७४ १६:१८

प्रतिक्रिया
पठाउनुहोस्