पेमाको संसार [तस्बिरहरु]

कुम्भराज राई

काठमाडौं — १४ वर्षअघि पहिलो सन्तानको रूपमा छोरी जन्मिँदा उनका बुवा पासतेम्बा शेर्पा र आमा लाप्टी शेर्पाको खुसीको सीमा थिएन । दोलखाको गौरीशंकरस्थित लुवाङसा गाउँका शेर्पा दम्पतीको त्यो खुसी धेरै समय भने टिक्न पाएन ।

सुरुमा सामान्य लाग्ने पेमा जति बढ्दै गइन्, त्यति नै उनको शरीर चल्न चटपाउन छाड्यो । उनको बोली फुटेन ।

त्यसपछि उनलाई उपचारका लागि सकी–नसकी उनीहरूले काठमाडौंका विभिन्न अस्पताल पुर्‍याए । तर कहीँ पनि उपचार सम्भव भएन । उनीहरूको सपना हरायो । अनि विवश भएर त्यही छोरीमा आफ्नो खुसी खोज्न थाले । २४ सै घण्टा छोरीको रेखदेख गर्नुपर्ने भएकाले उनीहरूले अरू सन्तान पनि जन्माएनन् । 

उमेर जति बढ्दै गए पनि पेमामा खासै सुधार देखिएन । उनले आवाज त निकालिन् तर बोल्न सकिनन् । हात–खुट्टा पनि चलेनन् । हात–खुट्टा चलाउने कोसिस गर्छिन् तर बटारिन्छन् । उनी काँटाले खान मिल्ने चीज खुट्टाले बडो मुस्किलसँग खान्छिन् । यसरी खाना ख्वाउने र अन्य कामका लागि अरूको सहारा चाहिन्छ । सात वर्षकी भएपछि पेमालाई कहिलेकाहीं बोकेर उनकी आमाले आफन्तकहाँ जान्थिन् । त्यतिखेर उनले त्यहाँ पेन्सिल कापी खुट्टाले च्यापेर बोक्ने र लुकाउने गर्थिन् । अर्काको सामान चोर्नु हुन्न भन्दै आमाले गाली गर्थिन् । 

पेन्सिल र कलम भेटेपछि उनले खुट्टाले च्यापेर भित्ताभरि कोर्थिन् । यसरी भित्तामा लेख्दा ऋण लाग्छ, अलच्छिन हुन्छ भन्दै उनका अभिभावकले उनलाई पिट्थे पनि । तर उनले त्यसो गर्न छाडिनन् । अन्तत: एक दिन उनीहरूकै एक आफन्तले पेमाले पढ्न चाहेको अनुमान गरी कापी र पेन्सिल किनिदिए । त्यो अनुमान सही भयो ।

उनलाई नजिकैको मन्टेश्वरीमा भर्ना गरियो । तर अन्य बालबच्चाझैं हेरचाह गर्न सजिलो नभएकाले धेरै समय राख्न सकिएन । हाल उनी राजधानीको टोखामा बुवाआमासँगै बस्छिन् । उनको अवस्थाबारे सामाजिक सञ्जालमा थाहा पाएपछि स्वंयसेविका शिक्षकको रूपमा दुई वर्षदेखि सीमा श्रेष्ठले प्रत्येक दिन पढाउँदै आइरहेकी छन् ।

पेमाको दिमाग तीक्ष्ण भएको सीमा बताउँछिन् । ‘बोली नआउने र शरीर नचल्ने मात्र उनको अक्षमता हो,’ सीमा भन्छिन्, ‘मानसिक अवस्था उनको हाम्रोभन्दा राम्रो छ ।’ पेमाका बुवा मजदुरीको रूपमा वाल पेन्टिङको काम गर्छन् । आमाले आफ्नै डेरामुनि तरकारी पसल गर्छिन् । बुवाले अझै पनि प्रत्येक बिहान भगवान्लाई प्रार्थना गर्दै छोरीको स्वास्थ्यलाभको कामना गर्छन् । आर्थिक अवस्था कमजोर भएकाले कतिपय व्यक्ति र संघसंस्थाले पेमालाई सहयोग गर्दै आएका छन् ।
पेमाको सपना त्यति धेरै ठूलो छैन । उनी आफू झमक घिमिरेजस्तै बन्ने बताउँछिन् । उनलाई सीमा श्रेष्ठले झमकसँग भेटाइदिइन् । त्यतिखेर सीमा दंग भइन् । शारीरिक र मानसिक अवस्था मात्र नभएर बाल्यकालको पीडा पनि झमकसँगै मिल्ने भएकाले उनलाई कतिले झमकसँगै तुलना गर्छन् । 

प्राय: सधैं एउटै कोठामा भेटिने पेमा खुट्टाले नै लेख्ने पढ्ने मात्र नभएर मोबाइल चलाउने, रिमोट चलाएर टीभी हेर्ने गर्छिन् । भाडाको एउटा साँघुरो र अँध्यारो कोठा नै उनको संसार हो । कहिलेकाहीं मात्रै उनलाई बाहिर निकालिन्छ । 

 

 

 

 

प्रकाशित : कार्तिक २५, २०७४ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्

एमाले र माओवादीबीचको एकताबाट विपक्षी अत्तालिए : अध्यक्ष ओली

वाम गठबन्धनले मुलुकलाई निकास दिन्छ : पूर्वप्रम खनाल

काँकडभिट्टा — पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

झापा क्षेत्र नं १ को धुलाबारीमा शनिबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विपक्षी अत्तालिएको बताए । 'नेपालका कम्युनिष्ट शक्तिलाई फुटाएर विगतदेखि नेपाली काँग्रेसले चलाउँदै आएको द्वन्द्वको खेतीपाती अब समाप्त हुन्छ,' उनले भने । आगामी चुनाव देश विकास गर्ने र देश लुट्नेबीचको प्रतिस्पर्धा भएको उनको भनाइ थियो । आत्मनिर्भरताको अभियानलाई रोक्न गरिँदै आएको घेराबन्दी नेपालका कम्युनिस्ट पार्टीबीचको एकताले तोडिएको अध्यक्ष ओलीको धारणा थियो ।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका अध्यक्ष चुनावी दौडाहामा आएका हुन् । वाम गठबन्धनबाट झापा क्षेत्र नं १ मा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुरेन्द्र कार्की तथा क्षेत्र नं ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन उम्मेदवार बनेका छन् ।

वाम गठबन्धनले मुलुकलाई निकास दिन्छ : पूर्वप्रम खनाल

नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर मुलुकलाई निकास दिने बताएका छन् ।

इलामको लक्ष्मीपुरस्थित दाहालटारमा शनिबार बिहान कार्यकर्तासँगको भेटघाटमा उनले भने—'अहिले कम्युनिस्टहरूबीच वाम गठबन्धन भएको देखेर अधिनायकवाद आयो भन्नेहरू नै मुलुकमा अधिनायकवादी शैली अपनाउँदैछन् ।'

इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेता खनालले मुलुकमा आर्थिक समृद्धिको बाटोमा उन्मुख गराउने नयाँ योजनाका साथ वाम एकता गरिएको उल्लेख गर्दै 'अब देशले छिट्टै निकास पाउनेछ, वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर पाँच वर्षसम्म परिवर्तन ल्याउँछ,' भने ।

देशमा जस्तोसुकै अप्ठ्यारा र अवरोध आएका बेला वाम शक्ति एक भएपछि समाधान भएको स्मरण गर्दै उनले सिद्धान्त र विचार मिल्ने वाम शक्तिबीच एकता हुने र यसले संविधानको पूर्ण कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गरे ।

इलाम जिल्ला पर्यटकीय र कृषि क्षेत्रमा अग्रणी जिल्ला मानिएकाले यसको योजनाबद्ध विकासका लागि पहल गर्ने बताउँदै उहाँले यस क्षेत्रको सडक, विद्युत्, शिक्षा, कृषि क्षेत्रको विकास गर्नेमा आफू प्रतिवद्ध रहेको बताए ।

- रासस

प्रकाशित : कार्तिक २५, २०७४ १४:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्