कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१३ वर्षपछि खेल्नयोग्य बन्यो मुलपानी क्रिकेट मैदान [फोटोहरु]

कान्तिपुर संवाददाता

काठमाडौं — मुलपानी क्रिकेट मैदान शनिबारदेखि खेल्नका लागि प्रयोगमा ल्याइएको छ । पूर्व तथा वर्तमान राष्ट्रिय खेलाडीहरू खेलेर मुलपानी क्रिकेट मैदानमा खेल सुरुवात गरेका हुन् ।

राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र पूर्व कप्तान पवन अग्रवालको कप्तानीमा दुई टिम बनाएर प्रदर्शनी म्याच खेली मैदान सञ्चालनमा ल्याइएको हो ।

३ सय ६५ रोपनी पत्रे जग्गा स्थानीयले क्रिकेटका लागि भनेर २०६१ सालमा सरकारमार्फत राष्ट्रिय खेलकुद परिषद्लाई भोगाधिकार गर्न दिएको थियो । त्यो अतिक्रमणमा पर्दा अहिले झन्डै २ सय ९६ रोपनीमा झरेको छ । 

बजेट अभावमा १३ वर्षपछि आएर मुलपानी क्रिकेट मैदान खेल्नयोग्य बनेको हो । ढिला गरी निर्माण भएका कारण यसलाई ‘मेलम्ची–२’ पनि भन्ने गरिएको थियो । नेपाल सरकारले मैदान निर्माणका लागि बजेट भाषण मार्फत रकम निकासा गरेको थियो ।

एसियाली क्रिकेट परिषद्सहित अन्य अन्तर्राष्ट्रिय निकायले मैदान निर्माणका लागि सहयोग गरेका थिए । युवा तथा खेलकुद मन्त्रालय र परिषदले काठमाडौं जिल्ला खेलकुद विकास समितिमार्फत नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई मुलपानी क्रिकेट मैदान समितिको संयोजक बनाएर १५ लाख भन्दा बढी रकम निकास गरी माथिल्लो मैदान खेल्न योग्य बनाइएको हो ।

माथिल्लो र तल्लो गरी त्यसमा दुई मैदान खेल्नका लागि बनाइदै आएको छ । माथिल्लो मैदान खेल्न प्रयोगमा ल्याएको हो । मुआब्जा विवादका कारण मुलपानीको तल्लो क्रिकेट मैदानको निर्माण कार्य पूरा हुन लाग्दा रोकिएको छ ।

तस्बिरहरु : सुरबिन्द्रकुमार पुन/कान्तिपुर ।  प्रकाशित : कार्तिक २५, २०७४ १९:२४

प्रतिक्रिया
पठाउनुहोस्