विमानस्थल सञ्चालनले छायो खुसीयाली [फोटोफिचर]

विमल खतिवडा

मेघौली — लामो समयदेखि बन्द रहेको चितवनको मेघौली विमानस्थल बुधबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । नेपाल एयर लायन्सले अब हप्तामा ३ दिन उडान भर्ने छ ।

बन्द विमानस्थल पहिलो पटक सञ्चालनमा आएपछि स्थानीयमा खुसी छाएको छ । खुसीयालीमा नेपाल वायु सेवा निगमको जहाज चढेर आउने यात्रु तथा चालक दलका सदस्यलाई माला र टीका लगाएर स्वागत गरिएको थियो । त्यस्तै स्थानीय थारु महिलाले नृत्यमार्फत स्वागत गरे । विमानस्थलमा हात्ती समेत राखेर जहाज चढेर आउने पाहुनाको स्वागत गरिएको थियो ।

स्वागतमा मेघौली सेराई, साराङ वाइल्डलाइफ क्याम्प ,होटल बाराहीलगायत होटल तथा रिसोर्टका सञ्चालक, कर्मचारीहरु स्वागत गर्न पुगेका थिए । १९ सिटको जहाजमा सञ्चारकर्मी, नागरिक उड्ययन प्राधिकरणका कर्मचारीलगायत आएका थिए । दिउँसो १ बजेर ५० मिनेटमा आएको जहाज साँझ फर्किएको थियो । विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर केशव लम्सालका अनुसार बुधवार, शनिबार र आइतबार एक/एक उडान हुने छ ।

नेपालीका लागि ३ हजार १ सय ६५ र विदेशीका लागि ९९ सय डलर भाडा लाग्ने छ । काठमाडौंबाट २७ मिनेटमा मेघौली पुगिने छ । मेघौली पर्यटन विकास समितिका पूर्वअध्यक्ष विश्व सुवेदीका अनुसार ०१७ सालमा सञ्चालनमा आएको विमानस्थल ०६७ सालबाट बन्द भएको थियो ।

प्रकाशित : मंसिर १३, २०७४ १८:२०

प्रतिक्रिया
पठाउनुहोस्