नुवाकोट दुप्चेश्वर मेलाका तस्बिरहरु

कृष्ण थापा

दुप्चेश्वर (नुवाकोट) — धान्यपूर्णिमाको अवसरमा दुप्चेश्वर गाउँपालिका ६ मा रहेको दुप्चेश्वर महादेवमा मेला लागेको छ ।सिन्धुपाल्चोक, रसुवा, धादिङ, चित्तवन, काठमाडौं, भक्तपुरलगायत जिल्लाबाट भक्तजनको भीड लागेको छ । भीड नियन्त्रण गर्न नेपाल प्रहरी र म्यादी परिचालन गरिएको छ ।

धान्यपूर्णिमाको अवसरमा दुप्चेश्वर गाउँपालिका ६ मा रहेको दुप्चेश्वर महादेवमा मेला लागेको छ ।

सिन्धुपाल्चोक, रसुवा, धादिङ, चित्तवन, काठमाडौं, भक्तपुरलगायत जिल्लाबाट भक्तजनको भीड लागेको छ । भीड नियन्त्रण गर्न नेपाल प्रहरी र म्यादी परिचालन गरिएको छ । भीड भए पनि सुरक्षा अवस्था कडा र चुस्त रहेको खटिएका प्रहरी सही लेखनाथ आचार्यले बताए । यहाँ एकादशीदेखि मेला सुरु भएको हो ।

मेलामा हिन्दू र बौद्ध सम्प्रदायको मिश्रण देखिने दुप्चेश्वर क्षेत्र विकास समिति अध्यक्ष किशोर आचार्यले बताए । मेलालाई व्यवस्थित गर्न सीसीटीभी समेत जडान गरेर भक्तजनलाई सेवा दिइरहेको उनले बताए । आफूले चिताएको मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति हुने, बोल्न नसक्ने बालबालिका बोल्ने, वस्तुभाउ सप्रिने विश्वासले भक्तजनको ओइरो लाग्ने गरेको छ । त्यसैगरी धामी–झाँक्रीहरु विधिअनुसार महादेवबाट शक्ति सिद्ध गर्न ढ्याङ्ग्रो बजाई पूजा गरिरहेका छन् ।

सयौं वर्षअघि एक स्थानीय गोठालाको दूध दिने गाई हराएछ । खोज्ने क्रममा भीरको पहराबाट गाई कराछन् । लहरामा झुण्डेर माथि भीरको बीच थलीमा गाईको थुनबाट महादेवको शिलामाथि दूध दिएको दृश्य देखे । गोठालाले बाच्छो कराएर मर्न लाग्यो, तपाईलाई यही गाईको दूधसहित पूजा गर्न आउला भनेपछि गाई गोठमै देखा परिन् । भोलिपल्ट गोठालाले दूधसहित पूजा गरे । त्यतिबेलाबाट दुधेश्वरबाट दुप्चेश्वर महादेव उत्पत्ति भएर प्रशिद्धी पाएको किम्बदन्ती रहेको समिति अध्यक्ष आचार्यले बताए । दुप्चेश्वरथान शिखरबेंसी पारि पहरामा छ । यहाँसम्म सडक सञ्जालले पुगेको छ ।

तीर्थयात्रीहरुलाई खानको लागि अस्थायी छाप्रा पसलहरु तादी खोला किनार र वरिपरिका खेत गह्रामा खुलेका छन् । बासको लागि अस्थायी टहरा बनाइएको छ । स्थानीय समुदायले डोका, डाला, थुन्से, नाङ्लोलगायत वस्तु बिक्री गरिरहेका छन् । त्यसैगरी शिखरबेंसी प्रशिद्ध चामल, फलफूल किनबेच भइरहेको छ । मेलामा बाहिरका व्यापारीले भरिएपछि स्थानीय निराश देखिएका छन् । बालबालिका लागि रोटे पीङ लगायत मेलाको आकर्षण बनेको छ ।

प्रकाशित : मंसिर १७, २०७४ १८:४३

प्रतिक्रिया
पठाउनुहोस्