१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

यसरी भयो चपलीहाइट बिष्फोट (फोटोसहित)

सुमन बस्नेत

काठमाडौं — बुढानिलकण्ठ नगरपालिका २ स्थित तल्लो भंगालमा कार्यकर्ता साढे १० बजे जम्मा भएर घरदैलो गर्ने कार्यक्रम थियो । सोहीअनुसार तपस्थली बृद्धाश्रममा जम्मा भएर कांग्रेस कार्यकर्ताले घरदैलो सुरु गरे ।

केही दिन अघि गगन थापा गोरखा गएकाले त्यहाँ केही घरमा भोट माग्न पुग्न बाँकी थियो । त्यसकारण ५०/६० घरमा घरदैलो कार्यक्रम सिध्याउने योजना थियो । 

३ बजे सिफल चौरमा अन्तिम चुनावी सभा गर्ने कार्यक्रम थियो । त्यसैले हामी बृद्धाश्रमबाट हिंडेर भंगालसम्म गयौं, त्यहाँ अलिकतिमाथि पुगिसकेर प्रदेशसभाका उम्मेदवार साधुराम खड्कासँग केही कार्यकर्ताहरु सेल्फी खिच्न थाले । गगन दाई भने अघि बढे । उनको घरदैलोको फोटो खिच्ने मेरो जिम्मेवारी भएका कारण म अधिकांश समय उनकै वरपर हुन्थे ।

बम पड्किएको स्थान । 

अलि पर पुगेपछि अचानक ठूलो आवाज आयो । घरका सिसाहरु ग्ल्र्याम्म खसे । पछाडि हेर्दा धुँवा देखियो । सबै चिच्याएको आवाजमात्र सुनियो । एक अर्कालाई कसैले देखेन । जताततै रुवाबासी मात्र सुनियो ।

गगन थापाको ढाडमा ढुंगा लागकाले उनी केहीबर चल्न सकेनन् । कार्यकर्ता भागाभाग गरेको केहीबेरपछि देखियो । एकछिन हेर्दा त राजकाजी श्रेष्ठ भूइँमा लडेको देखे । उनी रगताम्मे अवस्थामा लडेका थिए । एकजना साथीले निधार  र खुट्टा समातेका थिए । 

यि सबै दृश्य देखेर गगन थापा अगाडि उभिएर रोइराख्नु भएको थियो । श्याम श्रेष्ठको पाखुरामा ढुंगा छिरेको थियो । उनलाई तत्कालै अस्पताल लगियो । 

रेणु बरुवाल बहिनी टाउको र खुट्टामा चोट लागेर ढलेकी थिइन । उनी स्कुटरमा आएकी थिइन् । बमले स्कुटर र उनलाई उछिट्याएको रहेछ । बासीक नयाँ टोल सुधार समितिका अध्यक्ष पूर्ण श्रेष्ठको हातमा चोट लागेका थियो  । 

अन्य घाइतेहरुलाई पनि तत्कालै शिक्षण अस्पताल दौडाइयो । त्यो बेलासम्म म गगन दाईसँगै थिए । त्यसपछि गगन दाईलाई पनि उनकै गाडीमा अस्ताल लगियो । उनको ढाड र बायाँ कानमा चोट लागेको छ । 

 

गगन थापा घटनास्थल नियाल्दै । 

घाइते राजकाजी श्रेष्ठ र उनलाई सहयोग गर्दै अन्य । 

घाइते रेणु बरुवाल 

तस्बिर सौजन्य : सुमन बस्नेत 

(प्रत्यक्षदर्शी सुमन बस्नेतले  कान्तिपुरका दीपेन्द्र विष्टसँग गरेकाे कुराकानीमा आधारित ) प्रकाशित : मंसिर १८, २०७४ १६:५३

प्रतिक्रिया
पठाउनुहोस्