कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मतदानका लागि धमाधम तयारी

माधव घिमिरे

विराटनगर — मुलुकभरमै सबैभन्दा बढी मतदाता भएको मोरङमा बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदानका लागि अन्तिम तयारी धमाधम भइरहेको छ । मतदानस्थलहरुबाट मंगलबारैदेखि कर्मचारीहरुले मतदाता परिचयपत्र वितरण गरिरहेका छन् । मोरङका तीन सयवटा मतदानस्थलबाट बुधबार पनि बिहानैदेखि मतदाता परिचयपत्र लिनेको भीड लागेको छ ।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङ देशमै सबैभन्दा बढी मतदाता संख्या भएको जिल्ला हो । यहाँ ६ लाख ४४ हजार ७ सय ८२ मतदाता छन् । निर्वाचन आयोगका अनुसार दोस्रोमा काठमाडौंमा ६ लाख ३ हजार ४ सय ६० मतदाता छन् भने तेस्रोमा पर्ने झापामा ५ लाख १५ हजार १ सय ६६ मतदाता छन् ।

प्रदेश नम्बर १ मा पर्ने ७ वटा जिल्लामा पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ । बाँकी ७ जिल्लाका मतदाता जिल्ला आउने–जाने क्रम जारी छ । यो प्रदेशमा जम्मा २२ लाख ७४ हजार ६ सय २३ मतदाता छन् । दोस्रो चरणमा हुने निर्वाचनका लागि १ हजार १ सय ६५ मतदानस्थल र २ हजार ७ सय १८ मतदान केन्द्र कायम गरिएको छ । सातैवटा जिल्लामा गरी २४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पहिलो चरणमा मंसिर १० गते प्रदेश १ का ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङमा निर्वाचन भइसकेको छ । बिहीबार इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र उदयपुरमा मतदान हुँदैछ । 

दोस्रो चरणमा मतदान हुने सातै जिल्लाको १ हजार १ सय ६५ मतदानस्थलस्थित २ हजार ७ सय १८ मतदानकेन्द्रमा २१ हजार ७ सय ३६ कर्मचारी खटिएका छन् । सात जिल्लाबाट २१ प्रतिनिधिसभा सदस्य छनौटका लागि ११ महिला र २ सय १६ पुरुष गरी कूल २ सय २७ उम्मेदवार छन् ।

यस्तै, ४२ प्रदेशसभा सदस्यका लागि १९ महिला र ३ सय ५८ पुरुष गरी कूल ३ सय ७७ उम्मेदवार छन् । प्रतिनिधि र प्रदेशसभा सदस्य गरी कूल ६३ पदका लागि ३० महिला र ५ सय ७४ पुरुष गरी कूल ६ सय ४ उम्मेदवार छन् ।

सुरक्षाको दृष्टिकोणले १ सय ९१ म्तदानस्थल अतिसंवेदनशील, ४ सय ५८ संवेदनशील र ५ सय १६ सामान्य रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय रानीले जनाएको छ ।

प्रकाशित : मंसिर २०, २०७४ ११:२९

प्रतिक्रिया
पठाउनुहोस्