मतगणना स्थलमा तारबार (फोटोफिचर)

मकर श्रेष्ठ

काठमाडौं — स्थानीय निर्वाचनको मतगणनाकाट पाठ सिकेर काठमाडौंमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना स्थलमा तारजाली र सीसी क्यामेरा जडान गरिएको छ । काठमाडौंको १० निर्वाचन क्षेत्रको मतगणना पाँच स्थानमा हुँदैछ । भरतपुरमा मतगणना स्थलमै रहेको दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए ।


काठमाडौंको मतगणना शुक्रबारदेखि मात्रै हुने भएको छ । बिहीबार मतदान सकिएपछि मतपेटिका संकलन भएपनि मतगणना शुक्रबार बिहानमात्रै गर्न लागेको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले बताए । शुक्रबार बिहान ६ देखि ८ बजेसम्म सर्वपक्षयीय बैठक राखिएको पोखरेलले बताए । मतगणना स्थलमा कर्मचारी बाहेक अरुलाई प्रवेश नदिइने भएको छ । गणना स्थलमा ग्याबिन बनाउन प्रयोग गरिने तारको जाली लगाइएको छ । तारको जालीबाट टाउको छिराउन सक्ने भएकाले नरको डोरीले थप मजबुत बनाइरहेका छन् । यसबाहेक एउटा मतगणना स्थलमा कम्तीमा दुई वटा सीसी क्यामेरा राखिएको छ । निर्वाचन आयोगले एउटा मतगणना स्थल बनाउन ४० हजार रुपैयाँ खर्च बिनियोजन गरेको छ । उक्त खर्चबाट तार, नरको डोरी, फलाम, ओछ्याउने म्याट, कार्पेट लगायतकोखर्च पुर्‍याउनु पर्ने हुन्छ ।


१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ३ सय ९ स्थलमा ७ सय ३१ मतदान केन्द्र कायम गरिएको छ । आयोगका अनुसार काठमाडौंमा ६ लाख ३० हजार ४ सय ६० जना मतदाता छन् । मतदान गराउन ५ हजार ८ सय ४८ कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए । त्यसमा ३ सय ५५ जना उपसचिव र ७ सय ३१ शाखा अधिकृत छन् । मतदान सकिएपछि मतपेटिका संकलन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा प्रमुखहरु रहेको टोली बनाइएको छ । मतपेटिकासंगै मतदान स्थलमा खटिएका दलका ‘एजेन्ट’लाई पनि मतगणना स्थलमा सगै आउनेछन् । मतपेटिका राख्ने ठाउमा सीसीक्यामेरा राखेका छौ । काठमाडौंको मतगणना पाँच ठाउँमा हुनेछ । पोखरेलका अनुसार काठमाडौं क्षेत्र नम्बर १, २, ३ र ४को भृकुटीमण्डप स्थित सभागृहमा मतगणना हुनेछ । ५ र ७ को बानेश्वरको सहकारी प्रशिक्षण केन्द्र, क्षेत्र नम्बर ६ को जिल्ला समन्वय समितिको कार्यालय, ८ को बबरमहल स्थित वन परिसर र क्षेत्र नम्बर ९, १० को बानेश्वर स्थित संसद भवनमा हुनेछ ।

प्रतिनिधि सभाको मात्रै मतगणना
पहिलो चरणमा प्रतिनिधि सभाको मात्रै मतगणना हुने भएको छ । स्थान अभावको आधारमा सुरुमा प्रतिनिधिको मात्रै गणना गर्न लागेको पोखरेलले बताए । दोस्रो चरणमा प्रदेश एक, तेस्रो चरणमा प्रदेश २ को गणना गर्ने योजना बनाएको उनले बताए । चौथो चरणमा समानुपातिकको गणना गरिने उनले बताए । मतगणना गर्दा बिगतमा भन्दा थप सुरक्षा व्यवस्था कडा हुने उनले बताए । ‘यसभन्दा अघि नभएको सीसीटीभी, तारजाली घेरिरहेका छौ,’उनले भने,‘मतगणना बस्ने प्रतिनिधिले मतपत्रमा सहजै एक्सेस पुग्न नसकोस भन्ने हिसाबले यो गरेका हौ ।’



प्रकाशित : मंसिर २०, २०७४ १६:५३

प्रतिक्रिया
पठाउनुहोस्