भित्र मतदान, बाहिर भोज

जितेन्द्र साह

विराटनगर — प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकालागि बिहीबार भइरहेको मतदानको क्रममा विराटनगर महानगरपालिकामा थरिथरिका दृश्य देखिएको छ । दलहरुले मतदाता एवं कार्यकर्तालाई रिझाउन कतिपय मतदान केन्द्र बाहिर तराई–मधेसको विशेष खाजा च्युरा, चना, चप, प्याजी एवं चियासहितको भोजको आयोजना गरेका छन् ।



वनभोज स्थल हो कि मतदान केन्द्र छुट्टयाउनै कठिन हुन्छ । मधेसतिर मतदानको केही दिन अगाडिदेखि मुख्य दिनसम्म उहिलेदेखि यस्तो खाले खानपीनको आयोजना गर्ने चलन भएकोले कोहीले यसको विरोध गर्दैनन् ।

रोचक के छ भने कोही आफूले भोट दिने दलको टेन्टमा बसेर मात्र भोज खान्छन् भने कतिपय रमाइलोकालागि आलैपालो सबैकोमा खान पुग्छन् । दलका नेता तथा कार्यकर्ताहरुले तानीतानी एवं थपीथपी मतदाताहरुलाई खुवाइरहेका हुन्छन् ।

यस्तो भोजमा सबै उमेर र समुदायका रमाइरहेका भेटिन्छन् । अर्कोतिर विराटनगरको अधिकांश भागमा सडकदेखि मतदान केन्द्रसम्म शान्ति छ । फाटफुट खुलेका पसलमा पनि ग्राहक देखिन्न । स्थानीय पैदल, साइकल, रिक्सा र ठेलागाडामा मतदान केन्द्रसम्म पुगिरहेका छन् ।





तस्बिरहरु : जितेन्द्र साह

प्रकाशित : मंसिर २१, २०७४ १५:००
प्रतिक्रिया
पठाउनुहोस्