कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गृह जिल्लामा दाहालको ‘कमब्याक’

विमल खतिवडा

चितवन — ११ वर्षपछि गृह जिल्ला चितवन फर्किएका दाहाल क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । यस अघि उनी रोल्पा, काठमाडौं र सिराहबाट चुनाव लडेका थिए ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई ९ हजार ३ सय ४१ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । दाहालले ४८ हजार २ सय ७६ मत ल्याए भने पाण्डेले ३८ हजार ९ सय ३५ मत ल्याए । यो क्षेत्रको कुल मतदाता संख्या १ लाख २५ हजार ८ सय २३ रहेको थियो ।

जसमा ९३ हजार ८ सय २६ मत मात्र खसेको थियो । दाहाल उम्मेद्वार बनेसँगै मत माग्न जनताको घर दैलो चहारे । चुनावी प्रचार प्रसारको क्रममै रहेको समयमा छोरा प्रकाशको अवसानले मर्माहित बनेका दाहाल मन दह्रो बनाएर जनताको घरदैलो गर्न छाडेनन् । मतदान पश्चात उनी बाहिर देखिएनन् । कतै गएनन् । चुनावी दौडधुपले थकित उनी परिवारसँगै बसे । समय परिवारलाई दिए । अन्तिम मत परिणाम सार्वजनिक भएपछि मात्र उनी गणनास्थल चितवन मावि पुगेका थिए ।

उनलाई एमालेको साथ थियो भने पाण्डेलाई कांग्रेसको साथ रहेको थियो । विजयी दाहाल परिवार सहित निर्वाचित भएको प्रमाण पत्र बुझ्न पुगेका थिए । जेठी बुहारी सिर्जनाको नाति साथमा लिएर दाहाल विजयी भएको प्रमाण पत्र बुझ्न पुगेका थिए । कार्यकर्ताको भीड लागेको थियो । माला, खादा र अबिर लगाउन कार्यकर्ताबीच प्रतिस्पर्धा चलेको थियो ।

दाहाललाई बधाई दिन प्रतिस्पर्धी पाण्डे गणनास्थल आइपुगेका थिए । बहालवाला वन मन्त्री रहेका पाण्डेले उनलाई स्टेजमा पुगेर बधाई दिएका थिए । दाहाललाई मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले विजयी भएको प्रमाणपत्र दिए । त्यसपछि प्रतिनिधि र प्रदेशसभामा विजयीहरु र्‍यालीमा सहभागी भएका थिए ।

प्रकाशित : मंसिर २५, २०७४ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्