कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोम्रोङमा छायो ल्होसार [फाेटाेहरु]

दीपक परियार

छोम्रोङ (कास्की) — कास्कीको पर्यटकीय गाउँ छोम्रोङ यतिखेर उत्सवमय बनेको छ । गुरुङ जातिको मुख्य पर्व ल्होसार मनाउन पोखरा, काठमाडौं लगायत सहरबाट यहाँका स्थानीय गाउँ फर्केका छन् ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरण अन्तर्गत गुरुङ गाउँ छोम्रोङमा ल्होसार मेला चलिरहेको छ । पुस १० गतेबाट मेला सुरु भएको हो । यस वर्ष च्यल्हो (चरा वर्ग) को विदाइ र खिल्हो (कुकुर वर्ग) को स्वागतमा गुरुङ समुदायले ल्होसार मनाउँछन् । पुस १५ सम्म चल्ने मेलामा विविध कार्यक्रम छन् । खुल्ला पुरुष तथा महिला भलिबल र बास्केटबल प्रतियोगिता मेलाको मुख्य आकर्षण हो ।

यसअघि असोज २५ मा अन्नपूर्ण आधार शिविरमा कार्यक्रम गरी अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव आरम्भ गरिएको थियो । पहिलो चरणमा अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण प्रथम हिमालका पहिलो आरोही मौरिस हर्जोगको शालिक शिलान्यास गरिएको थियो ।

विभिन जडिबुटी, परम्परागत होटलको नमुना एवं फोटो प्रदर्शनी पनि पहिलो चरणमा गरिएको थियो । महोत्सवको समापन भने जुन ३ अर्थात अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) को अवसरमा घान्द्रुकमा हुने छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना, अन्नपूर्ण गाउँपालिका र पर्यटन व्यवस्थापन उपसमिति छोम्रोङको व्यवस्थापनमा महोत्सव भएको हो ।

महोत्सवका संयोजक ललित गुरुङले सबै मौसममा अन्नपूर्ण पदयात्रा मार्ग उपयुक्त पर्यटकीय गन्तव्य भएको सन्देश दिन तीन चरणमा कार्यक्रम गरेको बताउँछन् । ‘अहिले ३ महिना पर्यटक खचाखच हुने र अरु समय निकै थोरै हुने परिपाटी छ,’ उनी भन्छन्, ‘अन्नपूर्ण आधार शिविर जाडोयाममा पनि उपयुक्त छ भन्नका लागि महोत्सव गरिएको हो ।’ पहिलो चरणबाट अपेक्षाकृत उपलब्धी हात परेको उनले बताए । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङले महोत्सवकै कारण आधार शिविर पुग्ने आन्तरिक पर्यटक ह्वात्तै बढेको जनाए ।

अन्नपूर्ण सेन्चुरी पदयात्रा मार्गमा पर्ने छोम्रोङसम्म पुग्न पोखराबाट जम्मा एक दिन लाग्छ । पोखराबाट घान्द्रुकको सिवैसम्म मोटरमा २ घण्टामा पुगिन्छ । नयाँ बसपार्कबाट बस र हरिचोकबाट सिवैं पुग्ने जिप छुट्छन् । सिवैंबाट न्युब्रिज, साम्रोङ, झिंनु हुँदै ३ घण्टाको पैदलयात्रामा छोम्रोङ पुग्न सकिन्छ ।

गुरुङ समुदायको बसोबास रहेको छोम्रोङमा पर्यटकस्तरीय लज एवं होटल छन् । अन्नपूर्ण आधार शिविर पुग्ने र फर्किने विदेशी र स्वदेशी पर्यटक छोम्रोङमा बास बस्न रुचाउछन् । यहाँबाट अन्नपूर्ण साउथ, हिउँचुली र माछापुच्छ्रे हिमाल नजिकैबाट अबलोकन गर्न सकिन्छ ।


प्रकाशित : पुस १३, २०७४ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्