१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लमजुङमा ल्होसारको चहलपहल [फोटोफिचर]

कान्तिपुर संवाददाता

लमजुङ — अघिल्ला वर्षहरुमा पुस १५ मा मात्रै चहलपहल देखिने लमजुङमा यसपटक अघिल्ला दिनहरुबाटै ल्होछार/ल्होसारको चहलपहल बढेको छ । एकआपसमा नाचगान गरी स्योकैं (सामूहिक भोज) खाएर रमाइलो गर्दै ल्होसार मनाउन थालिएको हो । यहाँका गुरुङ समुदायले बुधबार ल्होसारका कार्यक्रम गरेका छन् । शुक्रबार बेंसीसहरमा उनीहरुले राष्ट्रिय झण्डा बोकेर विभिन्न झाँकीसहितको र्‍याली निकाले । मनाङे चौताराबाट निकालिएको र्‍याली नारायणस्थानचोक, शेरा, दनाइँफाँटचोक घुमेर प्रशासन चोकबाट क्याम्पस रोड हुँदै तमु संग्रहालयमा पुगेर रमाइलो गरेका थिए ।

तमु प्ये ल्हु संघको आयोजनामा भएको कार्यक्रममा उनीहरु नाचगान साथै विभिन्न खेलकूदका कार्यक्रममा रमाए । उनीहरुले एकआपसमा शुभकामना साटासाट गरे । छेलो, तीर हान्नुका साथै घैंटो फुटाइ खेले । कार्यक्रममा गैरगुरुङ पनि थिए । औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै लमजुङ प्रदेश (ख) बाट निर्वाचित सांसद् पृथ्वीसुब्बा गुरुङले हरेक जातजातिको अधिकार संविधानले प्रदान गरेको भन्दै यसको सदुपयोग गर्न आग्रह गरे । ‘हाम्रो भाषा, संस्कार संस्कृति जोगाउन हामी आफैं एकजुट हुनुपर्छ । एकजुट हुनुको कुनै विकल्प छैन’उनले भने । प्रदेशले भाषिक अधिकार प्रदान गर्ने समेत उनले बताए । तमु प्ये ल्हु संघका जिल्ला अध्यक्ष क्या. मिलबहादुर गुरुङका अनुसार गुरुङ जातिको १२ वटा बर्ग चक्रमध्ये यसवर्ष च्य्ह ल्हो अर्थात् चरा बर्गको बिदाई गरी 'खि' ल्हो अर्थात् कुकुर बर्गको स्वागत गरिँदैछ । गुरुङ जातिले हरेक वर्षको पुस १५ गते नयाँ वर्षको रुपमा ल्होसार मनाउँछन् ।

शब्द/तस्बिर : आश गुरुङ/कान्तिपुर


प्रकाशित : पुस १४, २०७४ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्