पोखरामा ट्याक्सीको सिन्डिकेट, मिटरमा नचलाउने भन्दै आन्दोलन

लालप्रसाद शर्मा

पोखरा — मिटरमा ट्याक्सी नचलाउने भन्दै पोखरा ट्याक्सी व्यवसायी समितिले आज पोखरामा यातायात ठप्प पारेको छ । समितिमा आवद्ध ट्याक्सीहरु पृथ्वीचोक, सभागृह, सिर्जनाचोकलगायतका स्थानमा सडक छेकेर बसेका छन् । यसले सवारी ठप्प भएको छ ।

नगरबसलगायत लामो दुरीका बससमेत रोकिएका छन् । ट्याक्सी व्यवसायी तथा चालकहरु नाराबाजीमा उत्रिएका छन् । एम्बुलेन्स पनि राम्रोसंग चलेका छैनन् ।मिटरमा ट्याक्सी नचलाएको भन्दै प्रहरीले मंगलबार १७ ट्याक्सी नियन्त्रणमा लिएर बुधबार यातायात व्यवस्था कार्यालयमा कारवाहीका लागि पठाएको छ । त्यसको विरोधमा आन्दोलित ट्याक्सी व्यवसायीले चक्काजाम गर्दै सवारी आगामनमा अवरोध पुर्‍याएका हुन् ।

‘तोकिएभन्दा बढी भाडा लिएर उपभोक्ता ठगिएको गुनासो आएपछि मंगलबार केही ट्याक्सी नियन्त्रणमा लिइएको हो,’ कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले भने, ‘मिटरमा ट्याक्सी चलाउन नपाए हुन्थ्यो भन्ने उनीहरुलाई लागेको छ होला ।’यस विषयमा पोखरा ट्याक्सी व्यवसायी समितिका अध्यक्ष प्रकाशमणी तिवारीसंग सम्पर्क गर्दा उनको मोबाइल अफ छ ।

यसअघिका प्रशासन र प्रहरीले प्रभावकारीरुपमा काम नगर्दा पोखरामा यातायात व्यवसायीको सिन्डिकेट कायमै रहँदा मिटरमा ट्याक्सी चलाउने दशकौं बिते पनि सफल हुन सकेको छैन । यसले उपभोक्ता मारमा परेका छन् ।


प्रकाशित : पुस २६, २०७४ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्