कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

...रत्यौलीको झिल्केले झ्याइँ पार्‍यो [फोटोफिचर]

घनश्याम खड्का

म्याग्दी — पुसको महिना विवाहको लगन छैनन् । तैपनि बेनी खुल्लामञ्चको स्टेजमा शनिबार ८ जोडीको एकै पटक विवाह भयो । विवाह मात्रै हो र, पुसको कठ्याङ्ग्रिँदो जाडोमा पनि दिनभर रत्यौली गीत गाए । रत्यौलीको रन्को महिलालाई मात्र होइन पुरुषलाई पनि नचायो । लुठू (लाहुरे)ले नाचेर दिनभर हँसाए ।

तीव्र सहरीकरणसँगै फेरिएको जीवन शैली, सूचना प्रविधिसँगै बदलिँदो नेपाली संस्कृतिसँगै सहरमा मात्र होइन गाउँघरमा पनि रत्यौली संस्कृति हराउँदै गएको छ । लोपोन्मुख अवस्थाको कला र संस्कृतिमध्येको एक, रत्यौली गीत र नाचको संरक्षण गर्न उद्योग वाणिज्य संघले छैठौं म्याग्दी महोत्सव एवं ४ नम्बर प्रदेशस्तरीय पर्यटन महोत्सवमा रत्यौली गीत र नाच प्रतियोगिता गरेको हो । ‘स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न रत्यौली प्रतियोगिता गरेका हौं’ महोत्सवका लोकगीत तथा नृत्य संयोजक सुविन श्रेष्ठले भने, ‘हिन्दु महिलाहरुको रमाइलो र खुसी साट्ने अवसरको रुपमा रत्यौली परिचित छ ।’

विवाहको दिन बेहुलाको घरमा महिलाहरु गीत गाउँदै कम्मर मकाईमर्काई नाच्छन् । बेहुलाको घरमा महिलाहरु रोमान्टिक गीत गाउँदै यौनोत्तेजक हाउभाउ र शैलीमा नाच्ने संस्कार नै रत्यौली हो । जन्ती बेहुली लिन घरबाट साइत गरेपछि महिलाहरु दुलाहको घरमा बिहेको प्रक्रियाअनुसारका भावमा नाच र गीत गाउने गर्छन् ।'बुहारी लिन गए छोरा र जन्ती, नाच आमा आगनमा फनफन्ती ।’

रत्यौलीमा महिलाहरु पुरुष भेष धारण गरी पनि नाच्ने गर्छन् । पुरुष भएका महिलालाई लुठो वा लाहुरे भन्ने गरिन्छ । उत्ताउलो हाउभाउमा लाहुरेले दुलाहका आमा, दिदीबहिनीलाई खोज्दै नचाउँदै, सुहागरातमा छोराबुहारीको कृत्यको अभिनय गर्दछन् ।

रत्यौलीका महिला गीतमा नै भन्छन्, ‘ले लाहुरे ले ले दुलाहकी आमालाई खोजी खोजी ले ।’ दुलाहसहित जन्ती बेहुलीको घर पुगेपछिको रत्यौलीमा छुट्टै हाउभाउ गरिन्छ । बेहुलीका बहिनी भिनाजुसँग जिस्किएको भावमा भन्छन्, ‘म कति राम्री छु, दूरवीनले हेर भिनाजु ।’त्यही बेला लाहुरेले पुरुष जननेन्द्रीयलाई दुरविन बनाई दिँदा महोत्सवमा उपस्थित महिला–पुरुष सबै लाजले भुतुक्क भए । ‘ल्याएका दुलही राम्ररी पाले, जन्मदिने बाआमा नफाले ।’महिलाहरुले विवाहपछि छोरा–बुहारीले आमाबालाई वृद्धश्रममा पठाउने कुसंस्कारको पनि महिलाले रत्यौलीमार्फत विरोध गरे । प्रतियोगितामा पुरुषभन्दा महिला बढी थिए । महिलाहरु छोरोले बुहारी ल्याएपछि गर्ने सुहागरात, यौनजीवन र सासुबुहारी, नन्दभाउजु, देवरजेठानी आदि पारिवारिक सम्बन्धमा आउने परिवर्तनहरु गीत मै गाए ।

परम्परागत रत्यौलीको सबैभन्दा रोमान्चक पात्र भने लुठो हो । लुठोले (पुरुषको भेषमा नक्कली पुरुष जननेन्द्रीयमा सजिएकी महिला)ले कामोत्तेजक हाउभाउ र शैलीमा दुलाहका आमा, दिदीबहिनी, भाउजु समेत महिलाहरुलाई ‘च्याप्प समाउँदै यौन सम्पर्कको अभिनय गर्छन् । पुरुष प्रतिबन्धित गीतनाच हुने भएकोले महिलाहरु उन्मुक्त भइ नाचेर मनोरञ्जन गर्छन् ।

पुरुषले रत्यौली हेर्न हुँदैन भन्ने मान्यता छ, तैपनि कामवासनायुक्त पुरुष महिलाको रत्यौली हेर्न लुकिछिपी पुग्छन् ।


प्रकाशित : पुस ३०, २०७४ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्