देवघाटमा माघे संक्रान्ति मेला

शिव पुरी

देवघाट (चितवन) — धार्मिक पर्यटकीय क्षेत्र तथा पवित्र तीर्थस्थल चितवनको देवघाटमा सोमबार माघे सक्रन्ति मेलाका लागी भक्तजनको घुँइचो लागेको छ । सोमबार बिहानै देखि देशभर र भारतबाट समेत आएका भक्तजनहरुले स्नान गर्ने र पूजाआजा गर्ने क्रम जारी छ ।

देवघाटमा स्नान गरी पूजा गर्नाले मोक्ष मिल्ने र मनोकामना पूरा हुने जनविश्वास छ । यसैकारण प्रत्येक वर्षको माघे संक्रान्तीमा यहाँ भक्तजनको भिड लाग्ने गर्छ । यहाँ स्नान गरी नदी किनारमा पुजा गरिन्छ । त्रिशुली र कालीगण्डकीको संगम वेणीमा मकर स्नान गर्न आएका विभिन्न जिल्लाका भजन मण्डलीहरु नाचगान गरेर रमाईलो गर्छन् । नदिको किनारमा ब्रतबन्ध, होम आदि धार्मिक कार्य गर्ने कर्ताहरु मण्डप बनाई बसेका छन् ।

नदिमा नुहाउने भक्तजनलाई जोखीम नहोस भनेर बाँस र डोरीको प्रयोग गरी सुरक्षित बनाईएको छ । सम्भावित दुर्घटना हुन नदिन सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीलाई नदी किनारमा खटाइएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताए । समितिले आउने र जाने झत्तजनको छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ । त्यसका लागी बिभिन्न स्थानामा स्वयंसेवक खटाइएको छ । चिसो मौसम भएकाले ठाउँ/ठाउँमा धुनीको व्यवस्था समेत गरिएको छ । स्वास्थ्य उपचार, शौचालय, स्नान स्थल व्यवस्थापन, विद्युत आकस्मिक उद्धार तथा आवश्यक सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको छ ।

नेपालको महत्वपूर्ण धार्मिक गन्तव्य मानिने देवघाट भारतका हिन्दुको समेत मुख्य तीर्थस्थल बनेको छ ।


प्रकाशित : माघ १, २०७४ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्