तस्बिरमा हेर्नुहोस्, सोनाम ल्होछार

तस्बिर : इलिट जोशी

काठमाडौँ — तिथिमिति विवादबीच राष्ट्रिय तामाङ घेदुङले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा ल्होछार मनाएको छ । टुँडिखेलमा नेपाली सेनाले ठाउँ उपलब्ध नगराएपछि घेदुङअन्तर्गत बनेको ल्होछार आयोजक समितिले भृकुटीमण्डपमा यसवर्षको ‘२८५४ औं खि–ल्हो (कुकुर वर्ग) सोनाम ल्होछार’मनाएको हो । कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भनिए पनि उनी सहभागी भएनन् । ल्होछारमा विभिन्न सांस्कृतिक झाँकी, तामाङ भेषभूषामा प्रदर्शन गरिएको थियो ।

तामाङ समुदायको साझा आधिकारिक संस्था नेपाल तामाङ घेदुङले भने फागुन ४ गते ल्होछार मनाउने तय गरेको छ । तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले प्रत्येक वर्ष ल्हो परम्परामा रहेर मन्जुश्री तत्त्व ज्योतिष पात्रोअनुसार पहिलो महिना (ख्रे ला छेपागी) अर्थात् वर्षको पहिलो दिन १ गते मान्ने र त्यो तिथि यस पटक विक्रम संवतको फागुन ४ गते परेकाले सोही दिन ल्होछार मनाउने तयारी रहेको बताएका छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिअन्तर्गत निर्मित पात्रोमा सोनाम ल्होछार यो वर्ष माघ ४ गते र फागुन ४ गते ग्याल्बो ल्होछार उल्लेख छ । तामाङ घेदुङले ०७२ सालदेखि सोनाम ल्होछार निर्धारण गर्ने सोनाम लोथो (कृषि पात्रो) अनुसार ल्होछार मनाउँदै आएको छ ।

प्रकाशित : माघ ४, २०७४ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्