मोहनी पञ्चासे (फोटोहरु)

लालप्रसाद शर्मा

पोखरा — शान्त वातावरण । मनोरम दृश्यावलोकन । चारैतिर हरियाली । मानव र सवारी चाप शून्य । प्राकृतिक सम्पदाले भरिपूर्ण निकै राम्रो र शान्त ठाउँ ।

पर्यटकीय तथा धार्मिक स्थानबाट हुने हिमाली दृश्यावलोकनबाट पर्यटकीयस्थल पञ्चासे पुग्ने जोकोही पनि खुशी नहुने कुरै छैन । अग्लो यो पहाडबाट देखिएका सुन्दर दृश्यले जस्तोसुकै दु:ख पनि छिनभरमै बिसाइदिन्छ ।

कास्की, पर्वत र स्याङ्जाको पर्यटकीय तथा धार्मिक संगमस्थल पञ्चासेको भन्ज्याङसम्म पुग्न पोखराबाट ३० किलोमिटर कच्ची सडकको यात्रा गर्नुपर्छ । साथै, पोखरा–वागलुङ राजमार्गको काँडेबाट भदौरेसम्म गाडीमा र त्यहाँबाट पैदल ३ घन्टा हिड्नु पर्छ ।

पोखराकै ड्यामसाईड, शान्ति स्तुपा हदै ८ घन्टा पैदल तथा पर्वतको आर्थर र चित्रेबाट २/२ घन्टा हिडेर पुग्न सकिन्छ ।

एकै ठाउँबाट चार जिल्लाका सदरमुकाम (पोखरा, स्याङ्जा, कुश्मा र बागलुङ), आसपासका डाँडाकाडा, हिमाली श्रृङ्खलाको दृश्यावलोकन र जैविक विविधताको प्रत्यक्ष अवलोकन गर्न यहाँ पाइन्छ । त्यसैले त पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको गतिलो गन्तव्य बनेको छ । आदिमकालदेखि धार्मिक दृष्टिकोणले पनि यो प्रसिद्ध छ ।

यहाँबाट अन्नपुर्ण, धौलागिरी श्रृङ्खला तथा लमजुङ र मनास्लु हिमालहरुको अवलोकन गर्न सकिन्छ । सुर्योदय, सुर्यास्त, आसपासका सुन्दर गाउँबेसी, फाँट खोलानालाको दृश्यले सबैको मन लोभ्याउछ । साढे पाँचहजार हेक्टर क्षेत्रफलमा फैलिएको पाँच टाकुरा मिलेर बनेको छ यो ।

पञ्चासे १२ प्रकारका वनजंगल, ५८९ जातिका फूल फुल्ने वनस्पति, १५० थरी औषधिजन्य जडीबुटी, ८ थरीका रेसादार वनस्पति, एकसय १३ थरीका सुनाखरी, १८ थरीका पुष्पजन्य वनस्पति, ५६ थरीका जंगली च्याउ, ९८ थरीका उन्यूजातका वनस्पति यहाँ पाइन्छन् । यसैगरी, भालु, चितुवा, मृग र दर्जनौ चराचुरुङ्गीको बासस्थान हो पञ्चासे । पञ्चासेको शिखर २ हजार ५ सय १७ मिटर उचाईमा अवस्थित छ ।

सुर्योदय, सूर्यास्तलगायतको दृश्यावलोकन, वनजंगल, जडीबुटी, सुनाखरी, संस्कृतिलगायतले सबैलाई आकर्षित गराउँछ । टुप्पोमा रहेको तालले पनि झनै लोभ्याउँछ । पोखराको फेवातालको मुख्य स्रोत पनि पञ्चासे हो ।

जैविक विविधताले भरिपूर्ण पञ्चासे क्षेत्रले तीन जिल्लाका १५ गाविस ओगटेको छ । महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले पर्यटकको आकर्षणसँगै भन्ज्याङमा सुविधासम्पन्न होटल र आसपासका गाउँमा होमस्टेको सुविधा छ ।


प्रकाशित : माघ ७, २०७४ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्