कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्रदेश ६ : शपथ लिन हेलिकप्टर चार्टर

कान्तिपुर संवाददाता

सुर्खेत — प्रदेशसभा सदस्यहरुका लागि प्रदेश ६ को कार्यालयले आइतबार बिहान ११ बजे शपथ ग्रहणको कार्यक्रम राखेर निमन्त्रणा गरेको थियो । तर, प्रदेश प्रमुख दुर्गाकेशर खनाल र २४ बढी सदस्यहरु राजधानी काठमाडौंमै थिए । शनिबार दिनभर विमानस्थलमा कुरे पनि मौसमी प्रतिकूलताले उडान नभएपछि प्रदेश प्रमुख खनालसहित सदस्यहरु नेपाली सेनाको हेलिकप्टर चार्टर गरेर शपथ लिन आए ।

बिहान करिब १० बजेतिर हेलिकप्टरबाट ओर्लिएका प्रदेश प्रमुख खनाल सिधै प्रदेश प्रमुखको कार्यालय गए । उनलाई नेपाली सेनाको टुकडीले सलामी दिए लगत्तै पदभार ग्रहण गरे । निर्धारित समयमा सपथ ग्रहण हुने स्थिति नभएपछि मध्यान्ह १ बजेलाई सारिएको थियो ।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभाका ज्येष्ठ सदस्य हिमबहादुर शाहीलाई पद तथा गोपनियताको शपथ खुवाए । लगत्तै प्रदेश प्रमुखको उपस्थितिमा ज्येष्ठ सदस्य शाहीले प्रदेशसभाका अन्य ३९ जना सदस्यलाई सपथ ग्रहण गराए । सपथग्रहण पछि संक्षिप्त मन्तव्य राख्दै प्रदेश प्रमुख खनालले मुलुकले नौलो अभ्यास गरिरहेकाले प्रदेशबासी सबै मिलेर अगाडि बढ्नु पर्ने बताए ।

प्रदेशसभा सदस्यहरुको शपथग्रहण समारोह व्यवस्थित हुन सकेन । जिल्ला समन्वय समितिको सॉघुरो हलमा आयोजित शपथग्रहण समारोहको अन्त्यतिर सामुहिक फोटो सेसनसम्मै भद्रगोल बन्न पुग्यो । शपथग्रहण समारोहको संयोजन गरिरहेका क्षेत्रीय प्रशासन कार्यालयका कर्मचारीहरु कार्यक्रम अवधिसम्मै अतिथिलाई बस्ने कुर्चीको व्यवस्थापन गर्दै थिए । कार्यक्रमको सुरुवात कसरी गर्ने भन्ने मै क्षेत्रीय प्रशासन कार्यालयका अधिकारीहरु अलमलमा थिए ।

शब्द र तस्बिर : जनक नेपाल र प्रकाश अधिकारी ।


प्रकाशित : माघ ७, २०७४ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्