कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

भूमध्ये सागरबाट आएको प्रणालीले देशैभर वर्षा

काठमाडौंसहित उच्च भागमा बाक्लो हिमपात
अब्दुल्लाह मियाँ, सरोजकुमारी चौधरी

काठमाडौँ — भूमध्य सागरबाट इरान, अफगानिस्तान, पाकिस्तान र भारतको जम्मु कश्मिर हुँदै मंगलवार नेपाल प्रवेश भएको पश्चिम न्युनचापीय प्रणालीका कारण बुधवार देशैभर वर्षा भएको छ ।

काठमाडौंसहित देशका मध्य र उच्च पहाडी भागमा बाक्लो हिमपातसमेत भएको छ । काठमाडौंमा चार महिनापछि वर्षा भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजुधर प्रधानांगले काठमाडौंमा मनसुनपछि हिउँदमा पहिलो पटक वर्षा भएको कान्तिपुरलाई बताए । उनका अनुसार यो वर्षको हिउँदमा दोस्रो पटक पश्चिमी न्युन चापीय प्रणाली भित्रिएको हो ।

यसअघि गत पुसमा सूदूरपश्चिमसम्म मात्रै यो प्रणाली भित्रिएको थियो । त्यो प्रणालीका कारण सूदूरका उच्च भागमा हल्का हिमपातसहित वर्षा भए पनि पूर्वतिर सर्न नपाउँदै निस्कृय भएको थियो । ‘यो प्रणालीका कारण मंगलवारराती देखि देशैभर वर्षा भएको छ,’ मौसमविद् प्रधानांगले भने, ‘आज रातीदेखि नै मौसममा सुधार आउनेछ ।

भोलि (बिहीवार) बाट दिनहरु घमाईला हुनेछन् ।’ मंगलवार राती सूदूरपश्चिमबाट प्रवेश भएको प्रणाली पूर्वसम्मै फैलिएर वर्षा भएको छ ।  

काठमाडौंका २५ सय मिटर उचाईभन्दा अग्ला चन्द्रागिरी, फुलचोकी र शिवपुरीलगायतका क्षेत्रमा हिउँ परेको छ । काठमाडौंमा लामो समयपछि बाक्लो हिउँ परेको हो । बिहीवारदेखि मौसममा सुधार आउनुका साथै औसत तापक्रमसमेत बढ्न सक्ने विशेषज्ञहरुले बताएका छन् ।


प्रकाशित : माघ १०, २०७४ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्