हिमपात: कतै सास्ती, कतै मस्ती [फोटोहरु]

राजेन्द्र मानन्धर

खरिढुङ्गा (दोलखा) — अरनिको राजमार्ग अन्तर्गत लामोसाँघु—जिरी सडकको सबैभन्दा उच्च क्षेत्र खरिढुङ्गामा हिमपातपछि बुधबार करिब पाँच घण्टा सडक अवरुद्ध भएको छ ।

हिमपातपछि कही रमाइलो गरिरहेका छन् भने कही चिसो सहन नसकेर दु:ख भोगिरहेका छन् ।उच्च क्षेत्रका बस्तीहरुमा आगो तापेर जाडो छल्न खोज्ने र हिउँका डल्लाले एक अर्कामा हिर्काएर माइलो गर्नेहरु देखिएका थिए । सडक अबरुद्धसँगै २७ सय मिटर उचाईमा रहेको उक्त क्षेत्रमा भेला भएका मानिसहरुले हिउँ खेलेर दिनभर रमाइलो गरेका छन् ।

त्यहीको भूकम्पीडित बस्तीहरुमा टहराभित्र कठ्याग्रिएर बस्न बाध्य हुनेहरुको संख्या पनि अधिक रहेको स्थानीयहरु बताउँछन् । ३८ सय ४२ मिटर अग्लो कालिञ्चोक  क्षेत्रमा पनि हिमपात हुनेवित्तिकै मोटर र पैदाल पुगेर रमाइलो गर्नेहरुको भीड लागेको छ ।

पर्यटकीय क्षेत्रसमेत रहेको खरिढुङ्गामा हिमपातले अवरुद्ध सडक खुलाउन स्काइभेटर प्रयोग गरिएको थियो । दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापा र प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीसहितको टोली पनि सडक खुलाउन खरिढुङ्गा आएका थिए ।

बिहानदेखि अबरुद्ध सडक दिउँसो ३ बजे खुलेको थियो ।हिमपातपछि दोलखा सदरमुकामलगायत उच्च क्षेत्रका सबै विद्यालयहरु मध्यान्हपछि बिदा गरिएको छ । चिसोले टहरामा बस्ने भूकम्प पीडितहरुलाई बढी समस्या भएको छ ।

छाप्रा र कटेरामा बस्ने पीडितहरु कठ्याग्रिएर समस्या भएको भीमेश्वर नगरपालिका— ९ स्थित खरिढुङ्गाका वडा सदस्य जीतबहादुर श्रेष्ठले बताए । हिउँ परेपछि यस क्षेत्रको आलु उत्पादनमा बृद्धि हुने र किसानलाई फाइदा पुग्ने उनले जानकारी दिए ।


प्रकाशित : माघ १०, २०७४ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्