१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रानीपोखरीबाट कमलपोखरी सारिएका माछा धमाधम मर्न थाले

शब्द/तस्बिर : सुरविन्द्रकुमार पुन

काठमाडौँ — कमलपोखरीका माछा धमाधम मर्न थालेका छन् । यी माछा अघिल्लो वर्ष मंसिरमा रानीपोखरीबाट नजिकैको कमलपोखरीमा सारिएका थिए । स्थानीयका अनुसार मंगलबार बिहानैदेखि मरेका माछा पोखरीमा तैरिएको अवस्थामा देखिएका हुन् ।

कमलपोखरीमा हाल तीन थरिको माछा रहेकोमा रानीपोखरीबाट ल्याइएका जुँगे माछाहरु कुनै ज्युँदो नरहेको स्थानीयको दाबी छ । ‘पोखरीमा अब दश प्रतिशतको हाराहारीमा मात्र माछा रहेको हुनुपर्छ’, स्थानीय सिंहबहादुर तामाङ भन्छन्, ‘पोखरीभरि बग्रेल्ती पौडिरहने माछा अब देखिन छाडेका छन् ।

जिउँदो देखिएका पनि सक्रिय भई पौडिन सकेका छैनन् ।’ पोखरीमा जोडिएको पाइपलाइनबाट आउने पानीमा कुनै विषादि मिसिएकाले पनि यस्तो हुन सक्ने तामाङको अनुमान छ । मंगलबारदेखि नै मरेका माछा पन्छाउन स्थानीय किशोरहरु खटिएका छन् ।

उनीहरु डुङ्गामा चढेर मरेका माछा संकलन गरिरहेका छन् । मरेका माछालाई व्यवस्थापन नगरिएकाले वरिपरिको वातावरण दुर्गन्धित बन्न पुगेको छ भने सो घटनाप्रति सम्बन्धित सरोकारवाला मौन रहेको स्थानीयको गुनासो छ ।


प्रकाशित : माघ ११, २०७४ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्