कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी फोरिँदै छ चट्टाने भीर [फोटोफिचर]

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — नेपाली सेनाले निर्माण गरिरहेको मैलुङदेखि स्याफ्रुबेंसीसम्मको १७ किलोमिटर सिंगल लेनको ट्रयाक खोल्ने काम सकिएको छ । डबल लेन सडक निर्माण सकिने अब ६ सय मिटर बाँकी छ । अबको ३ महिनामा सडक निर्माण सम्पन्न भइ गाडी गुड्ने नेपाली सेनाको विकास निर्माण निर्देशनालयका निर्देशक रामधर सिंहले बताए ।

उनका अनुसार नयाँ वर्षमा डबल लेनको १७ किलोमिटर सडक निर्माण पूरा गरी सरकारलाई हस्तान्तरण गरिने छ । अहिले सेनाले मैलुङ–स्याफ्रुबेंसी सडक खण्डको त्रिशूली खोलामा पर्ने चट्टाने भीर फोर्ने काम अन्तिम चरणमा पुर्‍याइसकेको जनाएको छ ।

सेनाले पाँच ठाउँमा क्याम्प राखेर ८ स्थानबाट काम गरिरहेको छ । १ सय ९० जना सेना र ३ सय ५० जना सिभिल कामदार परिचालन गरेर सडक निर्माणलाई युद्धस्तरमा अगाडि बढाइएको मैलुङ–स्याफ्रुबेंसी सडक निर्माण कार्यदलका मेजर सञ्जय केसीले बताए । गल्छी, बेत्रावती, मैलुङ, स्याफ्रुबेंसी रसुवागढी सडक बनेपछि उत्तर (चीनको केरुङ) र (दक्षिण (भारतको ठोरी) जोडिने सबैभन्दा छोटो त्रिदेशीय सडक हुनेछ । अहिले सञ्चालनमा रहेको पासाङ ल्हामुमार्गको बेत्रावती, कालिकास्थान, धुन्चे स्याफ्रुबेंसी सडकभन्दा बेत्रावती, मैलुङ, स्याफ्रुबेंसी सडकको दूरी २४ किमि कम छ ।

चीन सरकारले सन् २०२० सम्ममा सिगात्सेबाट केरुङसम्म रेल ल्याउने गरी तयारी गरेको छ । सेनाबाट सडक हस्तान्तरण गरेपछि सडक विभागले कालोपत्रेको काम अघि बढाउने छ । सडक निर्माण पूरा भएसँगै रसुवागढीदेखि धादिङको गल्छीसम्मको दूरी ८४ किलोमिटरको हुनेछ । गल्छीबाट काठमाडौंसम्मको दूरी ५० किलोमिटर छ । काठमाडौंबाट चीनको केरुङ करिब ४ घण्टामा पुग्न सकिने छ । पर्साको ठोरीबाट चितवनको भण्डारा-गल्छी हुँदै त्रिशूली बेत्रावती–मैलुङ–स्याफ्रबेंसी मार्ग सञ्चालन हुँदा चीन र भारतबीचको दूरी दुई सय ३० किलोमिटर हुनेछ ।

प्रकाशित : माघ १२, २०७४ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्