कांग्रेस नेताहरुले बानेश्वर चोकमा जुत्ता पालिस गरेर उठाए ३१ हजार

राजनीतिक शुद्धिकरणका लागि ‘जुत्ता पालिस’
शिल्पा कर्ण

काठमाडौँ — बिहान ९ बजेको समयमा मंगलबार नयाँ बानेश्वरस्थित छक्कुबक्कु पार्कमा केही कांग्रेस नेताहरु भुइँमा कागज ओछ्याइ बसेका थिए । हातमा बुरुस र पालिस लिएर लहरै बसेका नेताहरु त्यहाँ जुत्ता पालिस गराउन चाहनेहरुको पालिस गर्दै थिए ।

यो दृष्य कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित राजनीतिक शुद्धिकरण (जुत्ता पालिस) कार्यक्रमको हो । क्रमश: धनराज गुरुङ, चन्द्र भण्डारी, विनोद भट्टराई र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले उपस्थितहरुको जुत्ता पालिस गरे । 

यसरी जुत्ता पालिस गराउनेमा मानवअधिकारवादी, कांग्रेस कार्यकर्ता, राजनीतिक व्यक्तित्वदेखि वरपरका अन्य व्यक्ति पनि सामेल थिए । जुत्ता पालिस गरि सफा गर्नुलाई राजनीतिक विसंगतिको सफाइका रुपमा बुझ्न नेताहरुले आग्रह गरेका थिए । 

‘यो सांकेतिक हो । किसुनजी जस्ता सन्त नेताको आचरण र सिद्धान्त पुस्तान्तरण गर्न सुरु गरिएको हो,’ कांग्रेस नेता विनोद भट्टराईले प्रष्ट पारे, ‘आफैंबाट राजनीतिक शुद्धिकरणको सुरुआतस्वरुप यो कार्यक्रम गरिएको हो ।’ उनले कृष्णप्रसादले आफ्नो जुत्ता आफैं पालिस गर्ने गरेको सम्झिँदै यसबाट अहिलेका नेताहरुले सिक्नुपर्ने बताए । पटक पटक प्रधानमन्त्री भएर पनि विपक्षीलाई समेत औंला ठड्याउने मौका नदिएको भन्दै पूर्वसभामुख तथा नेता दमनाथ ढुंगानाले उनको जीवनशैलीबाट सबैले मार्गदर्शन लिनु आवश्यक रहेको बताए । ‘नयाँ संरचना र जनप्रतिनिधि हामीले पाएका छौं । किसुनजी झैं नैतिकता नै तिनको प्राण हो,’ ढुंगानाले भने । 

यस कार्यक्रमको अवधारणा ल्याउने महेश खरेलले आफूलाई किशोरावस्थामै भट्टराईको भनाइ र जिवनशैलीले प्रभाव पारेको बताए । ४७ सालमा गठित ‘बाल कांग्रेस’ मा आफू हुँदा कृष्णप्रसादले बाल समुहलाई सुकुम्बासी बस्तिका बालबालिकाका लागि ट्युसन पढाइदिने व्यवस्था मिलाउन भनेका थिए । ‘हामीले आफैं पढ्ने उमेरमा कसरी पढाउन सक्नु भनेर प्रश्न गर्‍यौं,’ पाँचखालका मेयर खरेलले सम्झे, ‘अनि बानेश्वर, न्युरोड जस्ता भीडभाडवाला इलाकामा जुत्ता पालिस गर त्यहाँबाट उठेको रकमले शिक्षकको व्यवस्था गर भन्नुभयो । त्यस समयमा आँट आएन, लाजले गर्दा सकिएन ।’ अहिले त्यसैलाई निरन्तरता दिन खोजेको उनको भनाइ छ ।

यस कार्यक्रमबाट उठेको रकम सामाजिक कार्यका साथै किसुनजीको सिद्धान्त प्रचारमा खर्च गरिने प्रतिष्ठानले जनाएको छ । पालिस गराउने दुई दर्जन बढि व्यक्तिहरुबाट झन्डै ३१ हजार रुपैयाँ उठेको छ ।तस्बिरहरु: शिल्पा कर्ण


प्रकाशित : माघ १६, २०७४ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्