प्रदेश-३ : प्रदेशसभा बैठकको तयारी धमाधम

प्रताप बिष्ट, तस्बिर : हेमन्त श्रेष्ठ

हेटौंडा — हेटौंडा उपमहानगरपालिका-१० स्थित मध्याञ्माञचल क्षेत्रीय शिक्षा निर्देशनालय भवनको सभाहलको सिंगारपटार सकिन लागेको छ । त्यही भवनलाई प्रदेशसभा सचिवालय बनाइएपछि त्यसैको सभाहलमा मुलुकमै पहिलोपटक प्रदेशसभाको बैठक बिहीबार बस्दैछ ।

सातवटा प्रदेश मध्येमा पनि प्रदेश ३ को बैठक सबैभन्दा पहिले बिहीबार हुन लागेको हो । यसका लागि केन्द्रीय संसदकै झल्को दिनेगरी सभाहल सिंगार्न खटिएको छ, संघीय सचिवालयबाट आएका सहसचिव रोजनराज पाण्डेको टोली । पाण्डेसहितका चारजना निर्देशन र रेखदेखमा धमाधम काम भइरहेको छ ।

बैठकस्थलको लागि मञ्च बनाउने, कार्पेट ओछ्याउने र कुर्सी मिलाउने काम बुधबार साँझसम्ममा सकिने छ । मञ्चमा सभामुख र उपसभामुखको स्थान बनाइएको छ भने हलमा १ सय १० जना सदस्यको लागि बस्ने कुर्सी मिलाइएको छ । त्यसपछिको भागमा दर्शक दीर्घ र सञ्चारकर्मीको लागि ठाउँ बनाइएको छ ।

'यो केन्द्रीय संसदको झल्को दिने गरी बनाइएको छ, फरक यति हो, यो सानो छ र थोरै मानिस हुनेछन्,' पाण्डे भन्छन् । बिहीबारको बैठकको तयारीका लागि बुधबार दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाइएको छ । त्यसले बिहीबारको आन्तरिक कार्यविधि निर्धारण गर्नेछ ।

बिहीबारको बैठकमा प्रदेश प्रमुखको तर्फबाट संसद बैठक आह्वान गरिएको पत्र पढेर सुनाइने छ र अर्को बैठकको मिति घोषणा गरिने छ । अर्को बैठकले सभामुख र उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछ । सभाको अध्यक्षता जेष्ठ सदस्यको नाताले डोरमणि पौडेलले गर्नेछन् ।

बैठकस्थलको सुरक्षा तीन तहमा गरिएको छ । बैठकस्थलको बाहिर सशस्त्र प्रहरी रहने छन् भने बीचमा नेपाल प्रहरीको टोली खटिने छन् । बैठकस्थलमा भने दश जना मर्यादापालक खटिने छन् । उनीहरुलाई केन्द्रीय संसदको झल्को दिने गरी सेतो दौरासुरवाल, कालोकोट र कालोटोपी लगाउने व्यवस्था गरिएको छ ।

प्रकाशित : माघ १७, २०७४ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्