१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

रमणीय चुनढुंगा पहाडको गुप्तेश्वर गुफा [फोटोफिचर]

तस्बिर/शब्द : हरिहरसिंह राठौर

सुनौला बजार (धादिङ) — जिल्लाको पुरानो सदरमुकाम सुनौला बजार नजिकै ठूलो ४ वर्ग किमि क्षेत्रफलको चुनढुंगाको पहाड छ । चुनढुंगाकै पहाडको बीचमा झट्ट हेर्दा नदेखिने ठूलो गुफा, गुफाभित्र शिवलिङ्गलगायत विभिन्न आकारका स्वनिर्मित संरचना । शिवरात्रिको अवसरमा खुबै रोमाञ्चक बनेको छ, तिनै गुप्तेश्वर महादेव र आसपासका क्षेत्र ।

नीलकण्ठ नगरपालिकाको सदरमुकाम धादिङबेंसीबाट दर्जनौं जोडा किशोरकिशोरीहरु एकाबिहानै उकालो लाग्छन् । सदरमुकामबाट २२ किमि सडक मार्गको दूरीमा रहेको गुफा सिधा पैदल जाँदा निकै छोटो पर्छ । बूढापाकाहरुको साटो किशोरकिशोरीहरु रमाइलो गर्न गुप्तेश्वर गुफा क्षेत्र पुग्छन् । ‘शिवरात्रिमा मेला लाग्ने गरेकोमा केही वर्षदेखि युवायुवतीको जमघट हुने गरेको छ’वर्षौदेखि गुफा सरसफाई गर्दै आएका स्थानीय ७८ वर्षीय शेरबहादुर श्रेष्ठले बताए । उनका अनुसार बितेका ५/६ वर्ष अघिसम्म वृद्ध र पाका व्यक्ति यदाकदा साधुसन्तहरु एकरात अगावै आउने गर्थे । रातभर बसेर धुनी जगाएर भजनकीर्तन गर्ने र बिहान पूजाआजा गरी फर्कन्थे ।

शिवरात्रिका बिहान दर्शनार्थीहरु दाम्लो लिएर आउथें, दाम्लो त्यही छाड्ने र अर्काले छाडेको दाम्लो लिएर घर फर्कन्थे । दाम्लो फेर्दा घरका गाईवस्तुको संख्या वृद्धि र रोगव्याधी लाग्दैन भन्ने जनविश्वास थियो । त्यस्तै सन्तान नभएकाहरु सन्तान प्राप्तिको वरदान माग्न उक्त गुफामा पुग्ने चलन थियो । गुफामा हिन्दु, बौद्ध र इसाई धर्मावलम्बीहरु आउने गरेको स्थानीय व्यापारीले सुनबहादुर श्रेष्ठले बताए ।

यो क्षेत्रलाई नीलकण्ठ नगरपालिकाले चालु आर्थिक वर्षदेखि लालीगुराँस संरक्षण क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गरेको छ ।

शब्द/तस्बिर : हरिहरसिंह राठौर


प्रकाशित : फाल्गुन १, २०७४ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्