२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सगरमाथा हेर्न ‘पात्ताले’

कुम्भराज राई

सोलुखुम्बु — सगरमाथा हिमश्रृखला आँखै अगाडि हेर्ने रहर कसलाई नहोला ? त्यसका लागि कालापत्थर पुग्नुपर्छ भन्ने छैन । कालापत्थर सबैको पहुँचको गन्तब्य पनि हैन । सगरमाथालाई सिधा हेर्न सकिने ‘पिके लेक’ पनि उति सहज छैन । सबैभन्दा सहज गन्तब्य पत्ताले आसपास हो ।

सोलुखुम्बु र ओखलढुंगाको सिमानामै पर्छ पत्ताले । दुधकुण्ड नगरपालिकाभित्र पर्ने पत्ताले समुद्री सतहदेखि ३ हजार १ सय मिटरको उचाईमा छ । दुई जिल्लाको सिमानामै पर्ने ठाडे, जन्तरधाप, पत्ताले क्षेत्र आईपुग्ने जो कोहीले एक पटकको यात्रामा धित मार्न सक्दैनन् ।

कात्तिकदेखि बैशाख यहाँ घुम्ने उपयुक्त समय हो । यो बेला ऐना झैँ खुला देखिन्छ सगरमाथा हिमश्रृखला । हातले छोएझैँ लाग्ने नुम्बुर हिमाललाई पृष्ठभूमिमा राखेर तस्बिर लिन सकिन्छ ।


ओखलढुंगा–सोलुखुम्बु सडक पत्तालेलाई छोएर गएको छ । कालोपत्रे सडकमा राजधानीबाट ९ देखि १० घण्टामा पत्ताले पुग्न सकिन्छ । तराईमा पर्ने उदयपुरको कटारीदेखि ८ घण्टामा पत्ताले पुग्न सकिन्छ । चैत बैशाखमा फुल्ने लालीगुराँस वनले पर्यटकको मन झनै लोभ्याउँछ । घुम्ती बाटो र लेकाली चौरहरुमा दिनभरि रमाउन मन लाग्छ । पत्तालेमा हिजोआज विदेशीसँगै आन्तरिक पर्यटक आउने गर्छन् ।

कम्तिमा एक रात यहीँ बिताउने गरि आउन सके झनै राम्रो हुन्छ । एकै रातमा सयौं पर्यटक अटाउन सक्ने मध्यम स्तरीय होटल खुलेका छन् । हिमाल र लालीगुराँससँग लुकामारी गर्दै आलुको ढिँडो, टिम्बुरको अचार र लोकल कुखुराको मासु, स्याउको मदिरा जस्ता परिकार खान पाउँदा पाईन्छ ।


तस्बिरहरु: कुम्भराज राई/कान्तिपुर


प्रकाशित : फाल्गुन ५, २०७४ ०८:४६

प्रतिक्रिया
पठाउनुहोस्