कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आहा ! कर्णाली (फोटो फिचर)

राजमार्गका मन छुने तस्बिर
हरिहरसिंह राठौर, ज्योति कटुवाल

राकमकर्णाली(दैलेख) — हाम्रो देशमा कर्णाली भन्ने बित्तिकै ज्यादै विकट ठाउँ भनेर चिनिन्छ । विकट नै सही, कर्णाली मुलुकको सम्भावना बोकेको प्रदेश हो ।

यहाँको जलस्रोत, जडिबुटी, जंगल, पत्थरखानी, हिमाल, ऐतिहासिक वस्तीहरु रहेको राजमार्गको वरपरको सुन्दरतालाई कमैले चासो दिए । सबैलै कर्णाली नदी तिरमा रहेको साँघुरो सडकको मात्रै बखान गरे । यहाँको साँघुरो सडकमा हुने सवारी दुर्घटनाबारे मात्र चर्चा भयो ।

मुलुककै सबैभन्दा लामो नदी कर्णालीको तिरबाट यात्रा गर्नेले वरपरको प्राकृतिक सुन्दरता, नदी किनारका ऐतिहासिक मनोरम वस्तीहरु, नयाँबजारहरु, बाह्रै महिना पाईने कर्णालीका स्वादिष्ट असला माछा, अर्गानिक कोदो, फापर, मकै आदिबाट बनाइने स्वादिष्ट परिकारहरुको कमैले चर्चा गरे । ऐतिहासिक खसराज्य र नेपाली (खसभाषा)को उद्गमस्थल सिंजा क्षेत्र, नेपालकै सबैभन्दा ठुलो ताल रारा जाने मुलद्धार नै दैलेखको राकम कर्णाली हो । नदी कै नामबाट ६ नम्बर प्रदेशको नाम सर्वसम्मत रुपमा कर्णाली राखिएको छ । कर्णाली प्रदेशमा पुग्न राजधानी सुर्खेत पुग्नै पर्छ ।

उच्च हिमाली भेगमा फल्ने जुम्लाको कालो मार्सी धान, स्याउ, स्वादिष्ट आलु र सिमी, स्थानीय जातका खसी यहाँका बिर्सन नसकिने कोशेली हुन । राज्यका निकायहरुले जुम्लाका सिमी खरिद गरेरे काठमाडौं पठाउने गरेका छन् भने करोडौंको स्याउ यहाँबाट निर्यात हुने गरेको छ ।

चालू आर्थिक वर्षमा नगरपालिकाले सहरी पूर्वाधारका लागि कृषि, आवास, विद्युत, सार्वजनिक खुल्ला क्षेत्र, पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन र ऐतिहासिक मठमन्दिरहरु निर्माणमा करिब १७ लाख वजेट विनियोजन गरेको छ । मुगुमा अवस्थित रारा तालले पर्यटकहरुको संख्यामा वर्षेनी बढोत्तरी गराइरहेको छ । कर्णाली राजमार्गमा सडक सुरक्षाका उपायहरु अवलम्बन गर्न थालिएपछि आन्तरिक पर्यटन फष्टाएको दैलेख र कालिकोट सिमानामा अवस्थित आठबिस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायको भनाइ छ ।

नगरपालिकाले राराताल पुग्ने पर्यटकहरुलाई राकममा आकर्षित गर्न प्याराग्लाईडिङ्ग र आठवीसकोट नगरपालिका भएर बग्ने करिव ५० किमी कर्णाली नदीमा जलयात्रा गराउने योजना अघि सारेको छ । कर्णाली राजमार्गको मुखैमा पर्ने २१ सय मिटर उचाईको सुर्खेतको सिद्धपाईला, रातानाङ्गला, रानीमत्ता र दैलेखको गुराँसे, गाईवान्ना, घोडावास, कान्छीवजार, पाथीकान्ला सम्मका क्षेत्रहरु लाई लालीगुराँस संरक्षण क्षेत्र घोषणा गरेर विशेष ग्रामिण पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने दैलेखका समानुपातिक सांसद धर्मराज रेग्मीको योजना छ ।

प्रकाशित : फाल्गुन २०, २०७४ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्