२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तेह्रथुम सोल्माका आगलागी पीडितको बिचल्ली (फोटोफिचर) 

चन्द्र कार्की

कालिमाटी (तेह्रथुम) — लालीगुराँस नगरपालिका–८ सोल्मा कालिमाटीका ४२ वर्षीय लक्ष्मी अधिकारीको परिवार खरानी बनेको घरमा ३ तोला सुनका गहनाको खोजीमा छ । घरसंगै सम्पत्तिको नाममा भएको ३ तोला सुन पनि जलेपछि अधिकारी परिवार चिन्तित बनेको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्माको कालिमाटी बस्तीमा गत मंगलबार भएको आगलागी पीडितहरु । तस्बिरहरु : चन्द्र कार्की/कान्तिपुर

आगलागीको चौथो दिन आधा जलेको शौचालयमा बसेर लक्ष्मी टोलाईरहेका थिए । उनकी श्रीमति र बुहारी खरानी बनेको घरमा गहना खोजिरहेका थिए । केही वर्ष अघि आगलागीबाट सर्वस्व गुमाएका लोकनाथ न्यौपानेको पनि सोही आगोले जीवनभर जोहो गरेको सम्पत्ति खरानी बनेको छ । उनीसंग एक छाक अन्न र एकसरो लुगा समेत छैन् । ‘आगोले साह्रै दु:ख दियो’ जलेको घरको तल्लो कुनामा टोलाएर बसेका न्यौपानेले भने ‘पटक पटक मलाई मात्र किन दु:ख दिन्छ ?’ अघिल्लो पटकको आगलागीमा सबै सम्पत्ति जलेका उनी बिस्तारै तङ्ग्रिदै थिए । फेरि जलेपछि न्यौपानेसंग सम्पत्तिको नाममा केही बाँचेको छैन । ‘शरिरमा लगाएको लुगा बाहेक अरु केही रहेन,’ उनले भने ।

गत मंगलबार भएको आगलागीबाट अधिकारी र न्यौपाने सहित गोविन्द अधिकारी, नेत्रप्रसाद अधिकारी, एकराज तिम्सिना र गुरुप्रसाद लुईटेलको घर सहित सबै धनमाल जलेको छ । आफ्नो नाममा २ रोपनी मात्र जग्गा भएका लक्ष्मी अधिकारीले अर्काको खेत अधियाँमा रोपेर थन्काएको ४० मुरी धान सबै जल्यो । ‘यो वर्ष फलाएको धान एक दाना पनि खाएको थिएन, सबै जल्यो’ अधिकारीले भने ।

काठ र घाँस दाउराका लागि सजिलो बनाउन संरक्षण गरेको नजिकैको हात्तिआहाल सामुदायिक वनका कारण पटक पटक आगोले आफ्नो उठिबास गरेको पीडित न्यौपानेले बताए । यस पटक पनि सोही वनबाट सल्किएको आगोले बस्तीनै सखाप बनेको छ । आगलागीमा परी ६ परिवारको ६० लाख रुपैंया बराबरको अन्न, सुनचाँदी, भाँडावर्तन र लुगाकपडा मात्र जलेको पीडितहरु बताउँछन् । सबै अन्न जलेपछि पीडितले आगलागी पछि पेटभरी खान समेत नपाएको बताए ।

आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालयले राहत रकम र खाद्य सामग्री वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी वेदनिधी खनाल आफै गएर प्रतिपरिवार २० हजारका दरले नगद र खाद्यसामग्री वितरण गरेका छन् । पीडितलाई सहयाेग जुटाउन सबै संयन्त्र परिचालन गरेकाे प्रजिअ खनालले बताए । आगलागी भएको बस्तीमा झाडापखाला, ज्वरो, रुघाखोकी, टाउको दुख्ने, छाती पोल्ने लगायतको रोग फैलिएको छ । बस्तीमा २६ जना बढी बिरामी परेको वडा सदस्य किरण लुईटेलले बताए । बिरामीको उपचारकालागि सोल्मा र सुङनाम स्वाथ्य चौकीबाट स्वास्थ्यकर्मीले पीडित बसेकाे स्थानमा स्वास्थ्य शिविर चलाएका छन् ।

प्रकाशित : फाल्गुन २५, २०७४ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्