बुद्धस्थलमा भुटानी महारानी

मनोज पौडेल

कपिलवस्तु — भुटानकी महारानी आसी साङदे छोदेङ्ग वाङचुकले शुक्रबार बुद्धस्थलको अवलोकन भ्रमण गरेकी छन् । महारानीसँगै राजकुमारी पनि आएकी छन् । उनले कपिलवस्तु नगरपालिका बार्ड नं. २ स्थित भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलोपटक आमाबुवालाई भेटघाट गरेको स्थल निग्रोधारामको अवलोकन गरिन् । 

त्यसपछि राजा शुद्धोदनको राजप्रासाद तथा राजकुमार सिद्धार्थले २९ वर्षको युवावस्था विताएको प्राचीन कपिलवस्तु (तिलौराकोट)को अवलोकन भ्रमण गरेकी थिइन् । दुवै ठाउँको ऐतिहासिक तथा पुरातात्विक महत्वबारे लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले महारानीलाई जानकारी गराएका थिए । 

त्यस्तै विगत ५ वर्षदेखि तिलौराकोटमा भइरहेको तिलौराकोट उत्खनन् तथा अन्वेषणबारे पनि उप्रेतीले महारानीलाई जानकारी दिएका थिए । त्यस्तै महारानी वाङचुकले निग्लिहवामा रहेको सम्राट अशोकद्वारा स्थापित अशोक स्तम्भको पसन अवलोकन गरिन् । 

कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले महारानी वाङचुकलाई निग्रोधाराममा स्वागत गरेका थिए । मेयर सिंह र लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले महारानी वाङचुकलाई मायाको चिनो प्रदान गरेका थिए । त्यस अघि बिहीबार साँझ महारानी वाङचुकले बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर, पुष्करणी पोखरी र अशोक स्तम्भ अवलोकन गरेकी थिइन् । कोषका सूचना अधिकृत राजन बस्नेतले महारानीलाई लुम्बिनीको ऐतिहासिक र पुरातात्विक महत्वबारे जानकारी दिएका थिए । 

महारानीसँग ९ सदस्यीय टोली भुटानबाट नेपाल आएको छ । उनी भुटानका चौथौं राजा जिग्मेसिङगे वाङचुकका श्रीमती हुन् ।

प्रकाशित : फाल्गुन २५, २०७४ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्