कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

त्रिशूलीमा र्‍याफ्टिङ सरर...(फोटो फिचर)

हरिहरसिंह राठौर

जोगीमारा(धादिङ) — जलविहार(र्‍याफ्टिङ)का लागि त्रिशूली विश्वको दशौं गन्तव्यमा पर्छ ।पृथ्वीराजमार्गको किनारबाट त्रिशूलीको जलयात्रा सुरु हुन्छ ।

नेपालको पर्यटन विकासमा त्रिशूलीको जलयात्राले पनि योगदान गरेको छ । यसले विदेशी पर्यटक मात्रै हैन स्वदेशीको पनि ध्यान तानेको छ । वर्षभरमा आउने विदेशीहरुको संख्यामा स्वदेशीहरु पनि जलयात्रामा रमाउन थालेका छन् । गर्मी मौसमको शुरुवातसँगै त्रिशूली किनारमा जलयात्रा गराउने रिसोर्ट र पर्यटन व्यवसायीहरु व्यस्त छन् ।

‘वार्षिक एक लाखले त्रिशूलीमा रोमाञ्चित र साहसिक जलयात्रा गर्छन् । ८५ प्रतिशत त नेपाली नै छन् ।’ मझिमटारस्थित जलयात्रा व्यवसायी सुरेश मल्लले बताए । त्रिशूलीमा २०४२ सालदेखि जलयात्राको थालनी भएको हो । सन् १९७१ मा अमेरिकी सेनाले त्रिशूलीमा जलयात्राको सम्भावना अध्ययन गरेसँगै नेपाल सरकारले जलयात्राको स्वीकृति दिएको थियो ।

पृथ्वीराजमार्ग वरपर मुग्लिनदेखि नौविसेसम्म साना ठुला गरेर करिब १८ सय होटलहरु छन् । ५३ वटा कम्पनीले स्वीकृति लिएर जलयात्रा गराईरहेका छन् । त्रिशूली किनारमा मात्रै एक दर्जन जलयात्रा व्यवसायी कम्पनीहरु छन् । त्रिशूलीले राम सिलवाल,इन्द्र राई जस्ता चर्चित कायक(र्‍याफ्टिङ खेलाडी) जन्माएको छ ।

विश्वको पर्यटन चिनारी बनेको नेपालमा जलयात्रा र यसको प्रवद्र्धनका लागि कुनै चासो नदिएको व्यवसायीहरुको भनाइ छ । राज्यले र्‍याफ्टिङका लागि स्पष्ट वैज्ञानिक नीति नल्याएका कारण झोले पर्यटकहरुको बाहुल्यता रहेको व्यवसायी विष्णु सिलवाल बताउँछन् ।

स्थानीय निकायहरुले नदी क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन्का लागि स्वीकृति दिएपछि त्रिशूली नदी धमिलो हुन गएको छ । यसको प्रत्यक्ष असर पर्यटन व्यवसायीहरुलाई परेको छ । नदीजन्य पदार्थको दोहन बढेसँगै प्रदूषण बढेको छ । प्रदूषण नियन्त्रणका लागि कसैले चासो देखाएका छैनन् ।

राजमार्ग छेउछाउका जमिन अतिक्रमण गरेर सञ्चालनमा आएका गुणस्तरहिन होटलहरुले त्रिशूलीलाई प्रदूषित बनाउने कार्य गरिरहेको त्रिशूली बचाउ अभियानका सदस्य श्रवण त्रिपाठीले बताए । त्रिशूली नदीबाट नदीजन्य उत्खनन् बापत् वार्षिक २५ करोड रकम आम्दानी गर्ने स्थानीय निकायहरु त्रिशूली प्रदुषण र जलयात्रा व्यवसाय धरापमा परेपनि मौन छन् ।

नेपालका सर्वाधिक जलयात्रा हुने अन्य नदीहरु भोटेकोशी , कालीगण्डकी,कर्णाली,भेरी र सेती पनि हुन् ।सबै तस्वीर : हरिहरसिंह राठौर

प्रकाशित : फाल्गुन २५, २०७४ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्