२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

तरकारी मन्डीले जोडिरहेको सहर

जितेन्द्र साह

विराटनगर — एउटा थोक तथा खुद्रा तरकारी मन्डीले महानगरका सम्पन्नदेखि विपन्नसम्म सबै वर्गलाई जोडिरहेको हुन्छ । मुख्य सहरको बीचमा रहेको विराटनगरस्थित गुद्री हाटले पनि यस्तै सुन्दर पहिचान बनाएको छ ।

हुन त यो महानगरको विभिन्न भागमा साताका हरेक दिन पालैपालो आइतबारे, सोमबारे, मंगलबारे, बुधबारे, बिहीबारे, शुक्रबारे र शनिबारे तरकारी हाट लागिरहेकै हुन्छ । तर, हरेक दिन बिहान छ नबज्दै पूर्ण रूपले खुलिसक्ने र राति ९ बजेसम्म चहलपहल रहने एक बिघा क्षेत्रफलमा फैलिएको गुद्री हाट भने महानगरको ढुकढुकी नै बनेको छ ।

आवागमनको दृष्टिकोणले सबै दिशाबाट आउनेलाई पायक पर्ने हुनाले यहाँको यो प्रमुख तरकारी मन्डी गृहिणी, व्यवसायी र श्रमिकका लागि आआफ्नै महत्त्वको छ । ‘तरकारीजस्तो अति आवश्यक उपभोग्य सामग्रीको उपलब्धता मुख्य बजारमै हुनुपर्ने हुनाले गुद्री उपयुक्त लाग्छ,’ विराटनगर रानीकी युवती निलिमा राईले भनिन् ।

सहरभित्रै बस्ने त यहाँ जतिखेर हिँडेरै पुग्न सक्छन् । बिहान र साँझको डुलाइसँगै ताजा सब्जी किन्न पाउँदा सजिलो भएको तिनटोलिया बस्तीकी ४२ वर्षीया सुनिता खनाल बताउँछिन् । उनी बसेको स्थानबाट हाटको दूरी मात्र १५ मिनेट छ । ‘लामो समयसम्म देखादेख हुन नपाएका आफन्त र परिचित पनि यहाँ भेटिन्छन्,’ उनी भन्छिन् । महानगरलाई मुलुकसँग जोड्ने मुख्य राजमार्ग छेउमै यो हाट भएकाले टाढाबाट आउनेलाई पनि यातायातको हिसाबले समस्या छैन । युवती राई पनि जोगबनी नजिकैको नेपाली बस्ती रानीबाट आउँछिन् ।

‘विभिन्न कामका लागि सहर आइरहनुपर्छ, कहिलेकाहीँ घर फर्कन ढिलो हुन्छ,’ उनी भन्छिन्, ‘सम्झेर खुइँखुइँ तरकारी किन्यो, गाडी चढ्यो अनि घरतिर लाग्यो ।’ बिहानदेखि रातिसम्म बाह्रै महिना थरीथरीका तरकारी पाइने यो ठाउँमा महानगरका सबैतिरकाले किनमेल गर्छन् । ताजा तरकारीको खोजीमा सीमावर्ती क्षेत्र विराटनगर १२ बकरीका ८८ वर्षीय रामअवतार कामत यहाँ आइपुग्छन् ।

‘यहाँ सबै दिन हाट लाग्छ, कहिल्यै बन्द हुँदैन, त्यही भएर आउँछु,’ उनी भन्छन्, ‘वरिपरि जति पनि बस, टेम्पो र सवारी पाइहाल्ने हुनाले आउनजान समस्या छैन ।’ मुख्यत: तरकारी मन्डीका रूपमा चिनिने यो हाटभित्र र वरिपरि चियानास्ता, किराना, भाँडाकुँडा तथा साजसज्जाका पसलहरू पनि छन् । दिनहुँ तरकारी किन्न/बेच्न आउनेकै कारण ती सब व्यवसाय चलेका हुन् ।

‘गुद्री रहेन भने त चिया बेच्न छाडेर अर्को काम गर्छु,’ २० वर्षीय आकाश सहनी भन्छन् । यही हाटको भरमा हरेक दिन सयौं कप चिया बिक्री भइरहेको उनले बताए । परिवारका चार सदस्यको सहयोगमा दैनिक औसत ८० किलो च्याउ उत्पादन गर्ने मोरङ धनपालथान ६ दादरबैरियाका किसान ४२ वर्षीय कपिल राजवंशीको बिहानी यही हाटमा बित्छ । हरेक दिन बिहान मोटरसाइकलमा च्याउ बोकेर उनी यो हाट आइपुग्छन् ।

‘थोक र खुद्रामा कारोबार हुने यहाँ किनमेलका लागि सहरै ओर्लिने हुनाले उत्पादन सहजै बिक्री हुन्छ, कुनाकाप्चामा यो सम्भव छैन,’ उनी भन्छन् । राजवंशीले थोक व्यापारीलाई च्याउ बेचेर मोटरसाइकलले मुस्किलले आधा घण्टाको दूरीमा रहेको घर फर्किहाल्छन् ।

गुद्री बजार तरकारी व्यवस्थापन समितिको अनुसार उपभोक्ताको मागअनुरूप यो हाटमा नेपाल र भारतको विभिन्न थलोबाट दैनिक १० बाहनमा १ सय ५० टन तरकारी आउँछ । यो हाटमा तरकारीको २० थोक र ३० खुद्रा मन्डी रहेको समितिका सल्लाहकार पशुपति भगत बताउँछन् । ‘स्वदेश र विदेशमा जस्तै सहरको बीचमै तरकारी बजार भएकाले सबै स्थानीयलाई किनमेल गर्न सजिलो छ,’ उनी भन्छन् ।


प्रकाशित : चैत्र ५, २०७४ ०९:४५

प्रतिक्रिया
पठाउनुहोस्