तीन दशकपछि पायो अशोक स्तम्भले ओत

मनोज पौडेल

कपिलवस्तु — तीन दशकपछि कनकमुनि बुद्धको जन्मस्थलमा रहेको अशोक स्तम्भ संरक्षण गरिएको छ । आकर्षक र परम्परागत शैलीमा छाप्रो (सेड) निर्माण गरी सुन्दर बनाइएको छ ।

६ मिटर लामो, ४ मिटर चौडा र ८ मिटर उचाइको सेड बनाइएको हो । यसअघि स्तम्भ लडेर भुइँमै गडेको थियो ।

सेडभन्दा माथि परम्परागत शैलीमा टायलको छाना राखिएको छ । भारतको राजस्थानबाट ल्याइएको चिल्लो टायलले प्राचीन अवस्थाकै संरचना झल्को दिएको स्थानीयले बताए । सेडलाई तिनतिरबाट चिनियाँ इँटाको आधी पर्खाल र आधी ग्रिल लगाएर सुरक्षित बनाइएको हो । पश्चिमतिरको प्रवेशद्वार, २ झ्यालबाहेक ठाउँमा पूरै पर्खाल लगाएको छ । काठको प्रवेशद्वार र झ्यालमा बौद्ध साहित्य र परम्पराको महत्त्व उजागर गरिएको देखिन्छ । प्रवेशद्वारका दुवै ढोकामा कलात्मक ढंगले भगवान गौतम बुद्धको खुट्टादेखि टाउकोसम्म कुदिएको छ । ढोकाको फ्रेम र झ्यालमा पनि उस्तै कलात्मक सिर्जना देखिन्छ ।

अशोक स्तम्भ दर्शन गर्न पुग्नेलाई सुरुमा भगवान गौतम बुद्धले बरद आसनमा सबैलाई आशिर्वाद दिएको तस्बिर ढोकामा राखिएपछि राम्रो मानिएको छ । ‘यसले सकारात्मक सन्देश दिन्छ,’ लुम्बिनी विकास कोषका प्रोजेक्ट म्यानेजर इन्जिनियर सरोज भट्टराईले भने, ‘सबै प्रफुल्ल भई फर्कने गरेका छन् ।’

ढोकामा भगवान उभिएर एउटा हातमा भिक्षापात्र र अर्कोले आशिर्वाद दिएको अवस्था काठको कलामा राम्ररी देख्न सकिन्छ । लुम्बिनी विकास कोषले करिब ३० लाख रुपैयाँ लगानीमा १ वर्ष लगाएर संरक्षण गरेको हो । स्तम्भसँगै रहेको पक्की सेडसहितको कनकमुनि बुद्धको मूर्तिलाई घरेर चारैतिरबाट पर्खाल पनि लगाइएको छ । सेडभित्र र बाहिर भुइँमा टेराकोटा टायर लगाएर चिरिच्याट्ट बनाइएको छ ।

‘यसमा हामीले पुरातात्त्विक मूल्य मान्यतालाई पूरा ध्यान दिएका छौं,’ कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले भने, ‘पछि अध्ययन र अन्वेषणको आवश्यकता भयो भने क्षति नपुर्‍याई पार्टपार्ट निकाल्न मिल्छ ।’ नवनिर्मित सेड र कनकमुनि बुद्धको मूर्ति राखिएको सेडलाई समेत गेरु रंगले रंग्याएको छ ।

तौलिहवा–जितपुर खण्डमा पर्ने अशोक स्तम्भलाई संरक्षण गरेर रंग लगाएपछि सबैको ध्यान तान्न थालेको छ । निग्लिहवाको संरक्षण गर्न कोषले ३ सुरक्षाकर्मी पनि राखेको छ । उनीहरू दिनरात खटिन्छन् । सदरमुकाम तौलिहवादेखि ७ किमि उत्तर पर्ने निग्लिहवामा रहेको अशोक स्तम्भ दुई टुक्रामा विभाजित छ ।

लामो खण्ड जमिनमा पसारिएको छ भने सानो खण्ड तेर्सो परेर गडेको छ । लामो टुक्रा १५ फिट लामो र त्यसको परिधि बढीमा ७ फिट ५ इञ्च छ । यस खण्डको शिखरपट्टि दुई मुजुरका डिजाइन र देवनागरी लिपिमा “ॐ मणि पद्मे हुँ रिपू मल्लस्य चीर जयतु १२३४” वाक्य कुँदिएको छ । त्यसैले यहाँ कर्णाली प्रदेशका राजा रिपुमल्ल आएका थिए भन्ने पनि बुझिन्छ । त्यसैगरी लम्बाई ५ फिट र परिधि ७ फिट ५ इञ्च भएको जमिनमा गडेर रहेको सानो खण्डमा ब्राह्मी लिपिमा कुँदिएको चार पंक्तिको अशोक अभिलेख छ । उक्त अभिलेखले सम्राट अशोक राजा भएको २० औं वर्षपछि यहाँ कनकमुनि बुद्धको जन्मस्थल आई पूजाआजा गरी यो स्तम्भ स्थापित गरेका थिए भन्ने कुरा झल्काउँछ ।

सुरुमा सन् १९८९ मा पहिलोपटक कोषका पुरातत्त्वविद् वसन्त बिडारीले निग्लिहवाको अशोक स्तम्भको संरक्षण गरेका थिए । त्यसपछिबाट अहिले संरक्षण भयो । निगालीसागर पोखरीमा लडेर अलपत्र परेको अशोक स्तम्भलाई क्रेन लगाएर उठाई अहिले रहेको ठाउँमा संरक्षण गरिएको हो । कनकमुनि गौतम बुद्धभन्दा पहिलेका आदि बुद्ध मानिन्छन् । निग्लिहवा कनकमुनि बुद्धको जन्म तथा नेटल टाउनका रूपमा इतिहास रहेको छ ।

प्रकाशित : चैत्र ६, २०७४ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्