बथानै देखियो दुर्लभ सारश 

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — विश्वमै दुर्लभ मानिएको सारशको बथानै यहाँ देखिएकोछ । कपिलवस्तु नगरपालिका वार्ड नं. १० स्थित विश्व सिमसार क्षेत्रमा सुचिकृत जगदीशपुर तालमा शनिवार एउटै फ्लगमा ३५ वटा देखिए । पानी सुकाईएको तालको मध्य पुर्वी भागमा सारश देखिएका हुन् ।  

उक्त सारश कपिलवस्तु नगरपालिकाको रामापुर, निग्लिहवा, वण्डिहुली, श्रीनगर र जहदी आसपास पनि साताबाट देखिन थालेको स्थानीय अब्दुलरसिद खाँले बताए । गाउँ आसपास सिमसिमे धाप भएको खेतमा १० देखि २० बटासम्मको बथानमा बस्ने गरेका छन् । सारश देखिने क्षेत्र नजिकै विश्व सिमसार क्षेत्रमा सुचिकृत जगदिशपुर ताल रहेको छ ।

‘सारश एकै ठाउँमा बथानै देखिनु राम्रो हो’ वरिष्ठ चराबिद् डा. हेमसागर बरालले भने, ‘यस्ले त्यस क्षेत्रको जैविक विविधता संरक्षण रहेको मानिन्छ ।’ यस्ले पारिस्थितिकीय प्रणाली पनि राम्रो रहेको देखाउँछ । त्यस्ले उक्त क्षेत्र आसपास बालीनानी उत्पादन बढाउँछ । मौसमका हिसाबले मार्च अप्रिल प्रि ब्रिडिङ्ग (पोथीमा भाले लाग्ने) महिना भएकाले धेरै सारशहरु एकै ठाउँमा जम्मा हुने गर्दछन् उनले भने ।

दुई दिन अघि तालमा २७ सारश देख्दा निक्कै रोमाञ्चित भएको निग्लिहवाका यमप्रसाद उपाध्यायले बताए । आक्कल झुक्कल दुई चारवटा देखिने सारश २७ वटा देख्दा त अचम्मै मान्दै एक घण्टा हेरेर धित मारेको उनले बताए । उडन सक्ने चरा मध्ये सबैभन्दा अग्लो चरा सारश हो । करिव १० किलोसम्म तौल हुने सारश दुर्लभ चरा भएकाले नै नेपालको बन्यजन्तु संरक्षण ऐन ०२९ ले संरक्षित गरेको ९ पंक्षी प्रजाति मध्ये एक हो । नेपालमा बढीमा ४ सय सारश भएको अनुमान गरिएको छ ।

जसमा कपिलवस्तु, रुपन्देही र नवलपरासीमा मात्रै दुई सय ५० बढी सारश रहेको चराविद् डा. बरालले बताए । सारशले सर्प सजिलै मार्ने हुँदा सारश बस्ने ठाउँ बरिपरी सर्पले डस्ने डर नहुने र बालीलाई नोक्सान पुर्‍याउने संखेलगायतका किरालाई सारशले खाने हुँदा बाली सप्रन सहयोग पुग्ने बताईएको छ ।

त्यस्तै नजिकै चितुवा र बाघलगायत जन्तु आउन लागे पहिले सारशले कराएर अग्रिम जानकारी दिनले संभावित आक्रमणबाट बच्न सकिने हुँदा समाजलाई फाईदा पुग्ने चराबिद् डा. बरालले बताए । सारश बस्ने ठाउँ शुभ मानिने हुँदा बालीनाली धेरै फल्ने तिलौराकोटका त्रिभुवन यादबले बताए । तस्बिरहरु: मनोज पौडेल/कान्तिपुर ।

प्रकाशित : चैत्र ११, २०७४ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्