हेर्नुहोस्, अस्ट्रेलियामा भएको 'नेपाल महोत्सव' का तस्बिरहरु

नारायण खड्का

अस्ट्रेलिया — पश्चिम अस्ट्रेलियाका सांसदहरुले नेपालीहरुको प्रशंसा गरेका छन् । पश्चिम अस्ट्रेलियामा चार वर्षपछि आयोजना भएको नेपाल महोत्सवमा सहभागी उनीहरुले नेपाली मिलनसार र परिश्रमी भएको भन्दै सह्राना गरेका थिए । ‘म तीन वर्ष नेपालमा गएर काम गर्दा नै नेपाल कति रमाइलो र प्यारो छ भन्ने जानिसकेकी छु’ पश्चिम अस्ट्रेलियाका प्रमुख प्रिमियर मार्क म्यागवनको प्रतिनिधित्व गरेर आएकी सांसद लिसा बेकरले भनिन् ।

उनले नेपाल कलासंस्कृतिमा धनी मात्र नभएर मिलनसार र परिश्रमी भएको बताउँदा नेपालीहरुले तालीले स्वागत गरेका थिए । उनले पश्चिम अस्ट्रेलियामा नेपालीहरु २ सय प्रतिशतले वृद्धि भएको समेत जानकारी गराइन् । यस्तै कार्यक्रममा सहभागी अन्य नेताहरुले समेत नेपाल र नेपालीहरुको प्रशंसा गरेका थिए ।

‘कार्यक्रममा आधाभन्दा बढी त विदेशीहरुको सहभागिता रह्यो’ आयोजक समितिका अध्यक्ष तथा एनआरएन उपाध्यक्ष दीपक शर्माले भने । नेपालको पर्यटन र कलासंस्कृतिको पहिचान दिलाउने मुख्य उद्देश्यका साथ आयोजना भएको कार्यक्रममा नेपाली खाना, पोशाक, कलासंस्कृति, नृत्य मुख्य आकर्षण बनेको थियो । मुख्य रुपमा विदेशीहरुलाई आकर्षित गर्ने उद्देश्य राखिएको महोत्सवमा विभिन्न विदेशी समुदायहरुले समेत आफ्ना परम्परागत नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

नेपाली परम्परागत पोसाक लगाएका सयौं नेपालीहरुले बिहानै पर्थको मुख्य सहरमा नेपाल परेडको आयोजना गरेका थिए । नेपाली बाजागाजा र झाँकीसहित सहभागिता जनाइएको परेडलाई विदेशीहरुले समेत तालीले स्वागत गरेका थिए भने उत्सुकता र चासोका साथ कार्यक्रमहरुबारे जानकारी लिएका थिए । एनआरएन पश्चिम अस्ट्रेलियाले पर्यटकीय क्षेत्र एलिजाबेथ क्युमा आयोजना गरेको महोत्सवमा ५ हजार बढी स्वदेशी तथा विदेशीहरुले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा, एनआरएनका अध्यक्ष भवन भट्ट, ओसिनिया संयोजक धर्मराज अधिकारीसहितका पदाधिकारीहरु सहभागी थिए । कार्यक्रमको मुख्य आकर्षणको रुपमा नेपाली सांगितिक ब्याण्ड कुटुम्बको प्रस्तुति थियो भने स्थानीय कलाकारहरुको प्रस्तुतिले समेत सहभागीहरुलाई मनोरञ्जन दिलाएको थियो ।

प्रकाशित : चैत्र १७, २०७४ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्