कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ वर्षमा भरियो बुटवलको फुलबारी पार्क

घनश्याम गौतम

रुपन्देही — नयाँ वर्षको पहिलो दिन सबैलाई नयाँ लाग्छ । बुटवल र यस आसपासमा रहेका पर्यटकीय स्थल र पार्क हेर्दा शनिबारदेखि साच्चिकै फरक खालको वर्ष सुरु भएको हो कि भन्ने लाग्थ्यो ।

बुटवल आसपासका मणिमुकुन्द सेन उद्यान, हिलपार्क, वनवाटिका, ग्लोबल पीस पार्कका क्षेत्रमा नयाँ वर्ष मनाउनेको भीड निकै बाक्लो थियो । किशोर किशोरीका जोडी, बालिबालिका सहितका अभिभावक र पारिवारिक घुमघामले पार्क र उद्यान भरिभराउ थिए । पिकनिक खाने, सेल्फि खिच्ने,भेटघाट, मनोरञ्जन लिनेको कमी थिएन ।

बुटवलको मणिमुकुन्द सेन उद्यानमा झण्डै ५० हजारले मनोरञ्जन लिए । वनबाटिकामा ४० हजार, हिलपार्क २० हजार र ग्लोबल पिसपार्कमा १६ हजार बढीले नयाँ वर्षको आनन्द लिएका छन् । मणिमुकुन्द उद्यान सेन उद्यान र वनबाटिकामा जंगली जनावर हेर्नेको पनि भीड थियो ।

मणिमुकुन्द सेन राजाले १५ औं शताब्दीमा निर्माण गरेको शीतकालीन दरबारको अवशेष सहितको उद्यान (फुलबारी)बाट बुटवलको धेरै दृश्य देखिन्छ । फुलबारी पार्कमा पुराना भग्नाबशेष दरबार, जंगल, आर्कषक फुलबारी र बगैंचा, झरना, शहीद स्तम्भ र जंगली जनावरको चिडियाखाना समेत छ ।

२०३६ सालमा स्थापना गरिएको फुलबारी पार्कलाई २०५४ साल देखि मणिमुकुन्द सेन उद्यान पार्कको रुपमा विकसित गरिएको अध्यक्ष खेम लुईटेलले बताए । २५ विगाहा क्षेत्रफलमा फैलिएको पार्क नयाँ वर्षको पहिलो दिन शनिवार भरिभराउ थियो ।

प्रकाशित : वैशाख १, २०७५ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्