कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

समुदायको व्यवस्थापनमा नमुना पदमार्ग 

शब्द/तस्बिर : घनश्याम खड्का

म्याग्दी — जिल्लाको मुख्य लगानीका क्षेत्र निर्धारण गरिएको पर्यटनको विकास गर्न यहाँका समुदाय आफैँ सकृय हुन थालेका छन् । पर्यटन विकास सरकार र व्यवसायीले मात्र होईन, समुदाय आफैँले पनि गर्न सकिन्छ भन्ने देशको एक्लो उदाहरण हो, अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यापदमार्ग ।

परम्परागत पर्यटनबाट निश्चित व्यक्तिबाहेक समुदायले कुनै लाभ लिन नसकेपछि ‘पर्यावरणीय गाउँ र सामुदायिक पदमार्ग’ नारा सहित गाउँलेहरुले पर्यटकका लागि घरबास (होमस्टे), सामुदायिक होटल/लज सहितको पदमार्ग सञ्चालन गरेका हुन् ।

१४ दिने, ६ दिने र ८ दिने छुट्टाछुट्टै प्याकेजमा पर्यटकले यात्रा गर्न सक्ने सामुदायिक पदमार्ग प्रविधिमैत्री छ । बेनीबाट सुरु हुने पदमार्ग नागी, महरे, फुलबारी, हिस्तान, स्वाँता, खोप्रा र खयरवराह तालसम्म पुग्न सकिन्छ । अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यापदमार्गमा अन्नपूर्ण सर्किटका प्रख्याद पदमार्ग घोडेपानी, तातोपानी र घान्द्रुकबाट समेत जोडिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङ्ग, ५ शिख/पाउद्धार, ६ खिवाङ्ग, ७ हिस्तान, ८ राम्चे/नागी र पर्वत जिल्लाको जलजला गाउँपालिका, १ बाँसखर्कका समुदाय मिलेर ७ वर्ष देखि अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यापदमार्ग सञ्चालनमा ल्याएका हुन् ।

‘सूचना प्रविधियुक्त तर सस्तो, सजिलो र छोटो पदयात्राका लागि यो गन्तव्य उपयुक्त छ । ’ सामुदायिक पदमार्गका कार्यक्रम संयोजक चित्रबहादुर तिलिजाले भने,‘बेनी–नागी–महरे पदमार्ग टि हाउस र क्याप्प ट्रेकको मिश्रण हो । ’

पदमार्गका वस्ती विहीन क्षेत्रहरुमा सामुदायिक गेष्ट हाउस छन । पदमार्ग क्षेत्रमा ६ वटा सामुदायिक लज, ४ वटा सामुदायिक डाइनिङ हल छन् । बाँकी व्यक्तिगत होटल तथा टि हाउस हुन् ।

सामुदायिक लजमा १८ जना नियमित, थप ४ जना सिजनेवल, डाईनिङ्ग हलमा ८ जनाले रोजगारी पाएका छन् । पदमार्ग क्षेत्रका वस्तीमा कम्तीमा १८ घरमा होमस्टे सञ्चालन गरिएको छ । पदमार्ग क्षेत्रमा आउने पर्यटकलाई डुलाउन पर्यटन कार्यालयबाट लाईसेन्स प्राप्त स्थानिय ४ जना गाईड, ५ जना सहायक गाईड र ३५ जना भरियाले नियमित रोजगारी पाएका छन् ।

सामुदायिक पर्यटनबाट अप्रत्यक्ष रुपमा दर्जनबढी व्यवसायले राम्रो लाभ लिएका छन् । गाउँमा पर्यटक आउन थालेपछि महिलाले जंगलमा खेर गैरहेको अर्घेलीबाट नेपाली कागज उत्पादन गरी कागजको गहना, डायरी, नोटबुक समेतका सामाग्री बनाई बेच्न थालेका छन् । त्यसैगरी महिलाहरुले हात बुना नोटप्याड, मोवाईल ब्याग, पर्स, झोला, टोपी लगायतका सामाग्री बनाई बिक्री गर्ने गरेका छन् । पर्यटक आउने थालेपछि तरकारी खेती, स्थानीय फलफुलको जाम, च्याउ खेतीको व्यवसायीक उत्पादन सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाका राम्चे, घार र पाउँद्धारमा गरी ३ वटा चीज उद्योग खुलेका छन् ।

‘गाउँमा पर्यटक आउन थालेपछि बारीमा खेर जाने आरुवखडाको जाम बनाएर बेच्न सकेका छौँ । स्थानीय रैथाने गाईको दुधबाट चीज बनाएका छौँ । धेरै दिदीबहिनीले च्याउ खेती र ऊनीधागोबाट हातबुना हस्तकलाका सामाग्री बनाई बेच्ने गरेका छौँ । ’ हिमाञ्चल आमा समूह नागीकी अध्यक्ष समेत रहेकी राममायाँ पुनले भनिन् , ‘स्थानीय जंगलमा पाईने अर्घेली, लोकता र अल्लोबाट नेपाली हाते कागज उत्पादन गरी हाते सामाग्री पर्यटकलाई बेच्न सकेका छौँ ।’

पर्यटकको सेवा सुविधा र आम्दानी व्यवस्थापन गर्न सामुदायिक पदमार्ग व्यवस्थापन समिति र वस्ती अनुसार उप समिति सकृय छन् । पदमार्गका सामुदायिक होटल, लज तथा डाईनिङ हलबाट हुने आम्दानी समुदायको निर्णयले स्थानीय विद्यालय, सडक तथा अन्य सामुदायिक क्षेत्रमा खर्च गर्ने गरिएको छ ।

अन्नपूर्ण र धौलागिरी हिमश्रृंखलामा देखिने सूर्योदय र सूर्यास्तको दृष्य, याक फार्मिङ्ग, जंगल यात्रा, हिमाली ताल र हिमाली वन्यजन्तु एवं पंक्षीहरु हेर्न सकिन्छ । प्राकृतिक सुन्दरताको दृष्यावलोकन तथा जैविक विविधता युक्त पदमार्गमा वर्षेनी पर्यटकको संख्या बढ्दै गएको छ ।

व्यवस्थापन समितिका अनुसार सन् २०१६ मा ८ सय जना पर्यटक भ्रमण गरेकामा सन् २०१७ मा बढेर एक हजार १७ जना आए । यस वर्षको मार्च महिनाका लागि अहिल्यै एक सय ७० जनाले बुकिङ गरेका छन् । सबै लजहरु २० बेड क्षमताका हुन् । पर्यटकको संख्या बढ्दै गएपछि सिजनमा बास बस्न समेत समस्या हुन थालेको छ ।

‘बेड क्षमता कम भएकोले सिजनमा ट्रे्किङ कम्पनी र गाईडहरुलाई पर्यटक राख्न प्रेसर हुन्छ । अग्रिम बुकिङ् नगर्ने कम्पनी र गाईडलाई तनाव हुन्छ ।’ खोप्रा सामुदायिक लजका मेनेजर नविन पुनले भने, ‘पाहुना बढी हुँदा २०–२५ जनालाई किचन र टेन्टमा राख्छौं । ’

सामुदायिक पर्यापदमार्गमा आउने पर्यटकको संख्या बढेपछि सञ्चालित लजको क्षमता दोब्बर पार्न काम सुरु भएको छ । खोप्रामा एक फ्रान्सेली संस्थाको सहयोगमा थप ३० बेड क्षमताको होटल बन्दै छ । नागीमा पनि अर्को २० बेड क्षमताको लज निर्माण चरणमा छ । महरे, ढाँडखर्क र बयलीमा पनि सर्वे भैरहेको छ । फुलवारीको सामुदायिक नजिकै अर्को ब्यक्तिगत होटल समेत भएकोले समस्या छैन ।

पर्यटन मन्त्रालयले स्वीकृतगरी गन्तव्य नेपाल कार्यक्रम भित्र समावेश अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यापदमार्गको भौतिक पूर्वाधार तयार पार्न ट्रेकिङ्ग एशोसिएसन अफ नेपाल (टान), होटल एशोसियसन नेपाल (हान), संयुक्त राष्टसंघिय विकास कार्यक्रम/लघु उद्यम विकास कार्यक्रम (मेडेप)ले सहकार्य गरेका हुन् । पदयात्रा मार्गमा आवश्यक होटल, बाटो आदी पूर्वाधार बनेका छन् । पदयात्रा क्षेत्रमा पर्याप्त खाना तथा आवास एवं बाटो घाटो मर्मत सुधार गरिएपछि यो ट्रेकिङ रुट पर्यटकका लागि निकै आरामदायी बन्न थालेको हो । पदमार्गमा पर्ने असजिला बाटो फराकिलो बनाइएको छ । ठाउँ–ठाउँमा सफा पिउने पानीको प्रबन्ध पनि गरिएको छ ।

प्रकाशित : वैशाख २, २०७५ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्