यस्तो छ मिलेनियम गुफा

लालप्रसाद शर्मा

पाेखरा — पृथ्वीराजमार्गको तनहुँ दुलेगौँडाबाट १५ किलोमिटर पश्चिममा पर्छ फिरफिरे गाउँ । गाउँको पुछारमा साँधखोलासँगै एउटा दुलोबाट छिरेपछि भित्र खुल्ला ठाउँमा पुगिन्छ ।

करिब एक सय वर्षअघिको कुरा हो । चरिरहेको बाख्रा एक्कासी हराएपछि खोज्ने क्रममा जमिनभित्रबाट बाख्रा कराएको आवाज सुनियो । स्थानीयले भित्र पसेर बाख्रा निकाले । त्यतिबेला गुफाको महत्व नबुझ्दा त्यत्तिकै ओझेलमा परेको स्थानीयवासीको भनाइ छ ।

सन् २००० मा विदेशी भूगर्भविद् सहितको टोलीले गुफाको थप अध्ययन अनुसन्धान गर्‍यो । गुफाको नाम मिलेनियम राखियो । व्यापक प्रचार भयो । स्वदेशी र विदेशी पर्यटक आउन थाले ।

भौतिक पूर्वाधार लगायत व्यवस्थापन अभाव र माओवादी द्वन्द्वका कारण केही वर्षमै गुफा ओझेलमा पर्न गयो ।

गुफा मन्दिर आकारको (तल फराकिलो र माथि साँघुरिदै गएको) छ । गुफाभित्र दुईवटा झरना छन् । हिउँदमा नसुक्ने र वर्षायाममा पनि ठूलो नहुने झरनाको पानी भूमीगत रुपमै बाहिर खोलामा निस्किन्छ ।

गुफाको फेद ५० मिटर लामो र त्यति नै मिटरको उचाईमा छ । भित्ताभरी चमेरा झुुण्डिएका छन् । साथै विभिन्न आकृतिमा चट्टानलाई देख्न सकिन्छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका– १२ मा पर्ने गुफालाई अहिले थप विकास र प्रवद्र्धनमा स्थानीय जुटेका छन् ।

गुफाको प्रचार गरी पर्यटकीय गन्तव्य बनाउने योजना रहेको वडाध्यक्ष मनराज गुरुङले बताए । घरेडी गाउँबाट १५ मिनेट हिँडेपछि गुफा पुगिन्छ ।

यहाँ पुग्न पृथ्वी राजमार्गको दुलेगौँडाबाट १५ किलोमिटर जीप यात्रा वा पोखराको भरतपोखरी प्युरी दोभानबाट ३ घन्टाको पैदल हिँडनुपर्छ पर्छ ।

प्रकाशित : वैशाख १२, २०७५ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्