कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मोदीलाई स्वागत गर्न आतुर जनकपुर

वेदराज पौडेल

जनकपुर — प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर आगमनको काउण्ट डाउन जति निजिकिदै छ त्यतिनै आतुर छ जनकपुर नगरी मोदीको स्वागतमा । रातभरि पेन्टरहरुले वाला पेन्टिङ गरिरहेका भेन्टिन्छन् । सडक निर्माण पनि रातभरि नै चलिरहेको छ । गेटहरु पनि रातारात सजिन्छन् ।

मोदीको स्वागतका तुलहरु र प्रचार पनि २४ सै घण्टा अनवरत चलिरहेको छ । रातभरि नसुति मोदीको स्वागतको तयारीमा पुरै नगर लागेको छ । सर्वसाधरणले पनि आफ्नो घर अगाडिको सफाई र स्वागतको घडा राख्ने काम गरिरहेका छन् । मोदी आउने बाटाहरु सफाइका लागि नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी समेत लागेका छन् । एयरपोर्टदेखि रामानन्द चोकहुँदै १२ बिगाह मैदान र जानकी मन्दिर हुँदै मोदीको भ्रमण हुने रुट हो । 

यहि बाटोमा अहिले पुरै प्रदेश सरकार र जनकपुर उप-महानगरपालिका सफाइ र सजावटमा लागेका छन् । बिहान ७ बजे नै १२ बिगाह मैदानमा मुख्यमन्त्री लालबाबु राउत सहित प्रदेश सरकारका सबै मन्त्रीहरु र उप-महानगरपालिकाका मेयर लालकिशोर साह सहित सुरक्षा प्रमुखहरु सभास्थलको सजावट, सुरक्षा र मोदीको स्वागत तयारीबारे छलफलमा थिए । 

भोली शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट भारतीय सेनाको जहाजबाट १०:१५ बजे जनकपुर विमानस्थलमा उत्रने छन् । मोदीलाई विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेल र मुख्यमन्त्री राउतले स्वागत गर्ने छन् । त्यसपछि मोदी सोझै जानकी मन्दिर पुग्ने छन् । उनलाई मन्दिरमा प्रधानमन्त्री केपी ओलीले स्वागत गर्ने छन् । गर्भगृहमा रहेको जानकी मन्दिरमा मोदीले ४५ मिनेट पूजा गर्ने छन् । 

त्यसपछि प्रधानमन्त्री ओली र मोदीले संयुक्त रुपमा रामायण सर्किटको उद्घाटन गर्ने छन् भने अयोध्या र जनकपुरबीचको बस सेवा सञ्चालनको शुभारम्भ समेत गर्ने छन । १२ बिगाहमा जम्मा भएका आम सर्वसाधरणलाई सम्बोधन गरी मोदी राजधानी काठमाडौं प्रस्थान गर्ने छन् । 

मोदीले पूजाअर्चना गर्न लागेको जानकी मन्दिर नेपालको एकमात्र मुगल शैलीको मन्दिर हो । यो मन्दिर एक सय २५ वर्ष पुरानो हो । यो सन् १८९४ देखि निर्माण थालेर सन् १९११ मा सम्पन्न गरिएको हो । भारतको मध्यप्रदेको टिकमगढकी तत्कालिन रानी बृष भानु कुँवरले सन्तान प्राप्तिको भाकल पुरा भएपछि ९ लाख चाँदीका असर्फी खर्च गरेर यो मन्दिर निर्माण गराएकी हुन् । त्यसअघि मन्दिर भएको स्थानमा सानो कुटी मन्दिर थियो ।


प्रकाशित : वैशाख २७, २०७५ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्