कैलाश गुफा हेर्ने बढ्दै

वसन्तप्रताप सिंह

बझाङ — जयपृथ्वी नगरपालिकाको १ स्थित रहस्यमय कैलाश गुफा बझाङमा चर्चामा छ । गुफाको बनावट मात्र नभएर यहाँको रहस्यमय पानी हेर्न जोखिमपूर्ण यात्रा गरेर गुफा पुग्नेहरूको संख्या पछिल्लो समय बढेको छ ।

साबिकको कैलाश गाविसमा पर्ने साग्रे पाटन नजिकैको यो गुफा समुद्री सतहबाट ३ हजार ५४५ को उचाइमा छ । परापूर्वकालमा मानिसहरूले बस्नका लागि प्रयोग गरेको जस्तो देखिने गुफाको बनावट पनि अनौठो छ ।

गुफाको मुखमा दुईवटा प्रवेशद्वार छन् । प्रवेशद्वारबाट ५ मिटरजति भित्र गएपछि ४ वटा अरू ढोका देखिन्छन् ।

४ मध्ये बायाँ तर्फको एक ढोकाबाट बाहिर निस्कन मिल्छ । ढोकाको बाहिर बार्दली जस्तै बस्न मिल्ने ठाउँ छ । बार्दली पस्ने ढोकासँगै जोडिएको अर्काे ढोकाबाट भित्र छिरेपछि २ वटा पानीका कुवा भेटिन्छन् । मानिस उभिएर सजिलै हिँडडुल गर्न सकिने कोठामा एक मिटरको फरकमा रहेका कुवाको पानी रहस्यमय छ ।


सुरुमा मान्छे प्रवेश गर्दा सुक्खा जस्ता देखिने कुवामा धूप बालेर पूजा गरे पछि पानी रसाउन थाल्छ । हेर्दाहेर्दै १०/१५ मिनेटमा दुवै कुवामा करिब २० लिटर जति पानी जम्मा हुन्छ । अचम्म त के छ भने एक पटक रसाइसकेपछि जति भरे पनि कुवामा पानीको सतह घटबढ हुँदैन । लामो समयसम्म नभरे पनि कुवाको सतहभन्दा बाहिर पानी आउँदैन । कुवा रहेको कोठाको सिलिङमा गौंथलीका गुँडहरू लहरै देखिन्छन् । यही रहस्यमय कुवा हेर्नका लागि विभिन्न ठाउँका मानिसहरू कैलाश गुफासम्म आउने गरेको स्थानीयहरू बताउँछन् । यहाँका स्थानीय बासिन्दाहरूमा यो गुफामा परावपूर्वकालमा शिवपार्वती बसेको विश्वास रही आएको छ ।


कुवा रहेको कोठाबाट दाहिनेतर्फ माथिल्लो तलामा जाने ढोका छ । यो सुरुङ निकै लामो र अँध्यारो भएकाले यस भित्र मानिसहरू पस्न डराउने गर्छन् । ‘२०/२५ मिटर भित्रसम्म त हामीहरू पुगेका छौं,’ कैलाशका अजय सिंहले भने, ‘त्यो भन्दा उता निकै अँंध्यारो छ । विभिन्न खालका आवाजहरू पनि सुनिन्छ । त्यसैले कोही जान आँट गरेका छैनन्,’ । माथिल्लो तला उक्लने ढोकाबाट ३ मिटर जति दायाँतर्फ हिँडेपछि अर्काे २ वटा ढोका भेटिन्छ । बायाँ तर्फको ढोका अत्यन्तै साँधुरो छ । टाउको मात्र छिराएर हेर्दा त्यस भित्र दुईवटा प्वाल देखिन्छन् ।


एउटा प्वालबाट बाहिरको प्रकाश आउछ भने अर्काे अँध्यारो छ । गुफाबाट बाहिर निस्केर १० मिटर जति दायाँतर्फ हिँडेपछि अर्काे ठूलो गुफा छ । करिब २ सय जति मान्छे अटाउने कोठा रहेको यो गुफा शिव पार्वतीको सभाहल भएको स्थानीयको विश्वास छ । सभाहलको दायाँतर्फ पनि दुईवटा साँघुरा प्वाल देख्न सकिन्छ । भुलभुलैया जस्तो लाग्ने यो गुफामा कतिवटा ढोका छन् र कहाँ के छ भनेर कसैले पनि अध्ययन गरेको छैन ।


प्रकाशित : जेष्ठ ३, २०७५ १०:४१

प्रतिक्रिया
पठाउनुहोस्