कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सडकको बेहाल (फोटोफिचर)

ठेकेदारकाे लापारवाहीले सडककाे बेहाल
हरिहरसिंह राठौर

धादिङ — सदरमुकाम देखि टारीबेँसी हुँदै वसेरी जान तयार भएको ना ४ ख ५३४९ नम्बरको बसले गत बिहीबारदेखि टिकट काट्दै फिर्ता गरेको छ । हरेक विहान यात्रुहरु पुछारबजारको काउन्टरमा पुग्छन् । बस जाने आशामा चलनचल्तीको मूल्यभन्दा बढीमा टिकट काट्छन् तर विहानै समयमा हिँड्नु पर्ने बस गन्तव्यमा जादैन ।

यात्रुहरुकै करकापले आईतबार विहान पुछारबजारबाट छुटेको ना ३ ख ९०४० नम्बरको सल्यानटार जाने बसले सदरमुकाम देखि ६ किलोमिटर पुग्न ७ घण्टा समय लगायो । आइतबार विहान घाम लागेको देखेर सदरमुकामदेखि टारीवेँसी हुँदै सल्यानटार जाने बस र ढुवानी साधनहरु सदरमुकामकै मुरली भन्ज्याङ्गका दर्जनौँ हिलाम्मे तालमा चोपलिदै फर्कदै गरे ।

जिल्ला सदरमुकाम धादिङबेंसीबाट २८ किमी दुरीको टारिबेँसी जोड्ने सडकखण्ड स्तरोन्नतीका नाममा जनतालाई सास्ती भएको छ । स्तरोन्नती गर्ने जिम्मा लिएको लामा कन्स्ट्रक्सनले निर्माण थालेको १८ महिना बित्न लागिसक्यो तर, अपेक्षित प्रगति भने हुन सकेको छैन ।

सडक स्तरोन्नतीको नाममा खनेर लथालिंग छोड्दा उक्त सडकमा पैदल, मोटरसाइकल मात्रै हैन ढुवानी साधनहरु समेत हिलोमा फस्ने गरेका छन् । निर्माण कार्य भइरहँदा एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधन समेत चल्न सकेका छैनन् । स्थानीय विद्यालयहरुमा बालबालिकाहरु पढ्न जान समेत कठिन भएको छ । ‘सडकको साटो मकैबारीबाट हिँड्नुपर्ने हुन्छ ’ पाल्पाभन्ज्याङ्गकी स्थानीय भगवती अधिकारीले भनिन् ।

एसियाली विकास बैंकको ऋण सहयोगमा हुन लागेको २५ वर्ष पुरानो सदरमुकाम सल्यानटार सडक यसअघि पनि २ पटक स्तरोन्नती र वाटरसिल भैसकैको छ । जिल्लाका पश्चिम उत्तर र छिमेकी जिल्ला गोरखाको मनास्लु पदमार्ग जाने प्रमुख मार्गका रुपमा परिचित उक्त सडक स्तरोन्नती गर्न लामा कन्स्ट्रक्सनका ठेकेदार जीपछिरिङ लामाले ६२ करोडमा जिम्मा लिएका छन् । लामा उनै हुन जसले नारायणगढ —मुग्लिन सडक खण्डको दोस्रो खण्ड दासढुंगा–सिमलतालको पनि जिम्मा लिएका छन् ।

दुई वर्षमै निर्माण कार्य सम्पन्न भैसक्नु पर्नेमा बितेका १८ महिनामा २० प्रतिशत पनि कार्य प्रगति नदेखिएपछि प्रदेश सांसद जगत सिंखडाले निर्माण कम्पनी मै पुगेर चेतावनी दिएर फर्केका छन् । सल्यानटार निवासी सांसद सिंखडाले भने –भीर, पहिरो, चट्टान कुनैपनि नभएको सडक निर्माणको गर्न ठेकेदार कम्पनीले लापरवाही गरेको पाईएपछि समयमा काम सक्न मौखिक चेतावनी दिएर फर्केको र प्रदेश सरकारले मूल ठेकेदारलाई सम्पर्क गर्न बोलाएको बताए ।

धादिङ जिल्लाको निलकण्ठ नगरपालिका, त्रिपुरासुन्दरी ,गंगाजमुना , र ज्वालामुखी लगायतका उत्तर पश्चिमी क्षेत्रका बासिन्दा सडक निर्माणमा ढिलासुस्ती हदा मारमा परेका छन् । बर्खायाम सुरु नहुँदै स्थानिय बासिन्दाले झनै सास्ती भोग्नु परेको छ ।

प्रकाशित : जेष्ठ ७, २०७५ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्