२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

इलाममा बिमान आउँदाको खुशी

विप्लव भट्टराई

इलाम — पटक/पटक बिमान परिक्षणको चर्चा चले पनि हुन नसक्दा स्थानीयमा उति विश्वास थिएन । मौसम अनुकुल भए पहिलो पटक इलामको जमिनमा टुइनएटर बिमान उत्रिने खवर सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत भाइरल भयो । घरआँगनमै बिमान उत्रने र उड्ने विश्वासमा विहान ९ वजेदेखि नै एयरपोर्ट आशपास ठूलो भिड जम्मा भइसकेको थियो ।

सदरमुकामबाट ६ किलोमिटर दक्षिणको सुकिलुम्बामा विहान साडे १० बजे बिमान उत्रने खबर थियो । तर डेढघण्टा ढिलो हुँदा पनि उपस्थित टसमस थिएनन् ।


जिल्लाका उच्च पदस्थ अधिकारीदेखि जनप्रतिनिधि सञ्चारकर्मी, निर्माण व्यवसायीलगायत सर्वसाधारणलाई बिमानले पहिलो पाइला कसरी राख्छ भन्ने हेर्नु थियो । छिनछिनमा बदलिने मौसम रहेको इलाम चर्को घाम हट्दै गयो र कालो बादलले प्रभाव जमाउँदै गयो । धरैलाई बिमान अवतरण हुन नसक्ने शंका उब्जियो । यहि मौसमबीच बादल चिर्दै तारा एयरको बिमान एयरपोर्ट माथि देखियो । पूर्वी मोहडावाट बिमानले मैदानको २० मिटर माथिवाट पहिला अध्ययन गऱ्यो । अनि सिद्धिथुम्का डाँडा नजिकतिरवाट गोदकतर्फ हानियो ।


अब बिमान नबस्ने रहेछ भन्दै निराश देखिएका उपस्थित जति बेला गडगडाहट तालीमार्दै खुशी देखिए तब बिमानले पहिलो पटक इलामको माटो छुदै थियो । विस्तारै पूर्ववाट पश्चिमतर्फ पुगेर पुर्न अर्को पटक बिमान दौडियो अनि पश्चितर्फ भागमा रोकियो ।


यतिबेला बिमानस्थलकालागि जग्गा प्रदान गरेकी मनमाया चौहानको खुशीको सीमा थिएन । ‘जग्गा दिएर ढिलो गरि मात्र काम सुरु हुँदा बिमान नउड्ने होकी भन्ने चिन्ता थियो,’ उनले भनिन्, ‘अहिले आँगनमा नै बिमान उत्रिएपछि जग्गा दिएको पनि सार्थक भएको ठानेकी छु ।’ छेउमा नै रहेकी इलाम नगरपालिकाकी उपमेयर शुशिला नेम्बाङले घर नजिकवाट अब उड्ने पाइने आशा सँगालिन् ।


सदरमुकाममा ६ वर्षदेखि निर्माण थालिएको फाल्गुनन्द सुकिलुम्वा बिमानस्थलमा सोमवार दिउसो सफल परीक्षण भएको हो । तारा एयरको विमानले पहिलो पटक इलाममा पाइला टेकेको हो । पहिलो पटक संजिव श्रेष्ठ र प्रभाकार घिमिरेले ११ जनाको टोलीसहित ल्याण्ड गरेका हुन् । काठमाडौंको त्रिभुवन विमानस्थलवाट १० : ५५ मा उडेको विमान १ घण्टा २ मिनेटमा अवतरण भएको थियो ।


आफ्नै घरआँगनमा जहाज आउने भएपछि हेर्नका लागि हजारौं उपस्थित थिए । यसअघि पटक/पटक परीक्षण प्रयास गरे पनि अनुकुल मौसम नहुँदा सफल हुन सकेको थिएन ।

यसअअघि नै उडान परीक्षणका लागि तारा एयरका पाइलटसहितको प्राविधिक टोलीले विमानस्थलको अवस्था जाँच गरेर परीक्षण गर्न सकिने निश्कर्ष निकालेका थिए ।


१३ वर्षअघि प्रकृया सुरु भएर पनि छ वर्षअघि निर्माण थालिएको बिमानस्थलका लागि पर्याप्त बजेट नहुँदा कामले गति लिन सकेको थिएन । चालु आर्थिक वर्षमा भने धावन मार्गलाई अस्थाईरुपमा सञ्चालनको तयारीसहित ड्रेन र ग्याबिङ वाल निर्माणको कामलाई तिव्रता दिंदै परीक्षण उडानसम्मको अवस्थामा पुऱ्याइएको प्राधिकरणको भनाई छ ।

जेठ ३ गते नै परीक्षण उडान गर्ने मिति तय भएपनि बर्षाका कारण भन्दै स्थगित गरियो । त्यसदिन हुन नसकेपछि जेठ १४ गतेलाई परीक्षण उडानको मिति सारियो । उडानका लागि मैदान तयारी अवस्थामा राखिए पनि तारा एयरका पाइलट थाइल्याण्ड गएका कारण उडान हुन नसकेको जानकारी दिइयो ।


बिमानस्थलको धावनमार्ग अस्थाईरुपमा मात्र तयार भएकाले समस्या नियमित उठान गर्ने अवस्था छैन । धावनमार्गलाई ग्राभेल गर्ने र टर्मिनल भवनलगायत अत्यावश्यक पूर्वाधार बनाउने हो भने एक वर्षमा नियमित उडान गर्न सकिने इन्जिनियर पुष्प न्यौपानेले वताए । ‘पूर्णरुपमा सबै पूर्वाधार निर्माण गरेर उडान भर्न अझै ४५ करोड आवश्यक पर्ने छ,’ उनले भने ।

७ सय मिटर लम्बाइ र ६० मिटर चौडाइ रहेको बिमानस्थलमा साना जहाज उड्न सक्छन् । यस क्षेत्रको पर्यटन विकासलाई समेत प्रत्यक्ष फाइदा पुग्ने ठानिएको बिमानस्थलको काम छिटो सम्पन्न गरेर उडान सञ्चालन गर्न स्थानीयले माग गर्दै आएका छन् ।

बिमानस्थलबाट निस्कने भलले त्यस तलका बस्तीमा प्रत्यक्ष असर पार्न थालिएपछि प्राधिकरणले ड्रेन व्यवस्थापनलाई पनि प्राथमिकता दिएको छ । माइखोलासम्म नै ढल व्यवस्थापन गर्नका लागि ९ करोडको लागतमा योजना सञ्चालित छ । तर यो वर्ष छिटो पानी परेकाले भने समस्या देखिएको छ । यो बिमानस्थल निर्माण सम्पन्न भएपछि पाँचथर, इलामसहित भारतको, दार्जिलिङ, सिक्कमलगायतका स्थानीयलाई समेत सजह हुने ठानिएको छ ।


हालसम्ममा रनवे निर्माणका लागि करिव आठ करोड र ढल निकासका लागि ९ करोड खर्च भइसकेको प्रमुख इन्जिनियर न्यौपानेले बताए । टर्मिनल भवन, तारबार, ग्राभेलसहित कालोपत्रेकालागि बजेट आवश्यक छ । स्थानीयस्तरमा रकम जुटाएर खरिद गरिएको तीन सय २६ रोपनी जमिनमा बिमानस्थल निर्माण भइरहेको हो ।

तस्बिरहरु : बिप्लव भट्टराई/कान्तिपुर । प्रकाशित : जेष्ठ २१, २०७५ १७:५४

प्रतिक्रिया
पठाउनुहोस्