कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

डा. उपेन्द्र देवकोटा पुर्ख्यौली घर पुग्दा... [फोटोफिचर]

हरिराम उप्रेती

पालुङटार (गोरखा) — स्वास्थ्य अवस्था जटिल बन्दै गर्दा वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाले बारम्बार पुर्ख्यौली घर जाने इच्छा व्यत्त गरे । देवकोटाको इच्छालाई शनिबार उनका परिवारले पूरा गरिदिए । हेलिकप्टर चार्टर गरेर पालुङटार नगरपालिका–४ बोहोरागाउँस्थित पुर्ख्यौली घर ल्याएका देवकोटालाई भेट्न उनका शुभचिन्तकको भीड लागेको थियो । झण्डै डेढ घण्टा बोहोरागाउँमा बिताएका देवकोटा ५५ मिनेट जन्मिएको घरमा सुस्ताए ।

२०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको पुरानो घर उनले एक वर्षअघि मर्मत गरेका थिए । ‘१५ दिनअघि म उहाँलाई सिस्नेपानी धाराको पानी खाने बोत्तलमा राखेर भेट्न पुगेको थिएँ, उहाँले गाउँमै आएर पानी खाने इच्छा देखाउनुभयो, आज आउनुभयो,’ स्थानीय प्रदीपचन्द्र देवकोटाले भने ।

चम्चाको सहाराले सिस्ने धाराको पानी खाएपछि देवकोटाको अनुहारमा चमक आएको उनी बताउँछन् । गाउँ आएपछि उपेन्द्र निकै खुसी भएका उनका उपचारमा संलग्न मेडिसिटी अस्पतालका इमर्जेन्सी मेडिसिन विभागका प्रमुख इमर्जेन्सी मेडिसिन फिजिसियन डा‍. सञ्जय कार्कीले बताए । ‘म गाउँ आइपुँगे भनेर उहाँलाई फिल भएको छ,’ उनले भने, ‘सरको अवस्था गभ्भीर छ, उहाँको पानी खाने इच्छा पूरा गर्न यहाँ ल्याएका हौँ, पानी खाएपछि उहाँको अनुहारमा खुसी देखियो ।’ कार्की नेतृत्वको टोलीले देवकोटाको स्वास्थ्य उपचारमा खटिएका थिए । उपेन्द्रले आफ्ना शुभचिन्तकसँग दोहोरो संवाद गर्न भने सकेनन् ।

प्रकाशित : जेष्ठ २६, २०७५ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्