तुइनको लठ्ठा तान्दा हातमा ठेला... [फोटोफिचर]

हरिराम उप्रेती

घ्याल्चोक (गोरखा) — गण्डकी गाउँपालिका–८ घ्याल्चोकका स्थानीय निकै जोखिमका साथ तुइनबाट त्रिशूली नदी वारपार गर्न बाध्य छन् । ठेकेदारले झोलुङ्गे पुल निर्माणमा ढिलाई गर्दा जोखिमले त्रिशूली नदी तर्न स्थानीय बाध्य बनेका हुन् । केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए ।

तुइनको लठ्दा तान्दा अधिकांश गाउँलेको हातमा ठेला उठेको घ्याल्चोकका शैलेश रेग्मी बताउँछन् । ‘घामले लठ्ठा फलाम आगोमा तताएजस्तो तात्छ, लठ्ठा तान्दा हातमा ठेला नपरेको मान्छे यहाँ भेटाउन मुस्किल छ,’ उनले भने । तुइनको साहाराले गण्डकी गाउँपालिका–८ घ्याल्चोकका स्थानीय उत्पादित तरकारी पृथ्वी राजमार्ग सँगैको चरौदी बजारमा लैजान्छन् । दिउँसो १० बजेबाट चार बजेसम्म तुइनबाट वारपार गर्नेको भीड लाग्ने गरेको छ । २०६७ सालबाट सहज आवतजावातको लागि उक्त ठाउँमा तुइन निर्माण गरिएको हो ।

गण्डकी गाउँपालिका–८ घ्याल्चोक र धादिङको रोराङ गाउँपालिका चरौदी जोड्ने झोलुङ्गे पुलको निर्माण २०७४ असोज १५ गते सम्पन्न गर्ने भन्दै एक वर्षअघि मना कन्ट्रक्सन जेभिले जिम्मा लिएको थियो । तर ठेकेदारको लापरबाहीले उत्त पुल निर्माण निकै सुस्त छ । ‘म्याद सकिएर थप भएको छ, असोज महिनाभित्र काम सक्ने लक्ष्य लिएका छौँ,’ जेभिका महेन्द्र अधिकारीले भने ।

प्रकाशित : जेष्ठ २७, २०७५ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्