काकाकुल चौरजहारी

हरि गौतम

रुकुम पश्चिम — चौरजहारी उपत्यका राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोक मार्गका उत्कृष्ट दश सहर मध्यको एक हो । चौरजहारी नगरपालिका-१,२ र ३ नम्बर वडामा फैलिएको बजार लामो समयदेखि काकाकुल छ ।

तीतेखर्क र कालाखोला मुहानबाट २०४५ सालअघि ल्याइएको पानीले बढेको जनसंख्यालाई पुगेको छैन भने पुरानो आयोजना भएकाले आयोजनको मुहान, पाइप र ट्याङ्कीहरु समेत जिर्ण हुँदा चौरजहारीमा पुग्दो खानेपानी आउँदैन ।

खानेपानी भर्नकै लागि सर्वसाधारण बिहान ३ बजेदेखि नै धारामा लाइन बस्न बाध्य छन् । धारामा पानी नआउँदै लाइन बसेका कतिपय त पानी नभरी रित्तै पनि फर्कनुपर्ने बाध्यतामा छन् ।

पौने घण्टादेखि १ घण्टा मात्रै धारामा पानी आउने र त्यो पनि सानो भएकाले धारा पुगेका सबैले पानी भर्न नपाउने स्थानीयले गुनासो गरे । साउन र भदौ महिना बाहेक अन्य दश महिना पानीको अभाव उस्तै हुने चौरजहारी नगरपालिका-२ का रामकुमार गौतमले बताए ।

चौरजहारी उपत्यकामा खानेपानी आपूर्तिका लागि भेरी नदीमा सौर्य प्रणाली जडान गरिएपनि त्यसको प्रभावकारीता देखिएको छैन । कहिलेकाँही भेरीको पानी आउने गरेपनि नियमित आउँदैन । भेरी र धाराको पानी दैनिक नभै दिन बिराएर मात्रै आउने गर्दछ ।

प्रकाशित : जेष्ठ २८, २०७५ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्