छोरीहरुको काँधमा डा. देवकोटाको पार्थिव शरीर

विद्युतीय शवदाह गृहमा गरियो डा. उपेन्द्र देवकोटाको अन्त्येष्टि
तस्बिर : कविन अधिकारी

काठमाडौँ — दक्षिण एसियाकै अब्बल स्नायु चिकित्सक विशेषज्ञ डा. उपेन्द्र देवकोटाको मंगलबार दिउँसो पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अत्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई छोरीहरुले बोकेका थिए । डा देवकोटाको हिजो सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको थियो ।


Esewa Pasal

प्रकाशित : असार ५, २०७५ १६:१६

बाँसबारीस्थित आफ्नै न्यूरो अस्पतालको प्राङ्गणमा आज बिहान ८ देखि १ बजेसम्म श्रद्धाञ्जलिका लागि अस्पतालमा पार्थिव शरीर राखिएको थियो । श्रद्धाञ्जलि दिन आफन्त तथा शुभचिन्तकको घुइँचो लागेको थियो ।

मृत्युको खबर सुनेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगी परिवारजनसँग भेट गर्दै समवेदना प्रकट गरेका थिए ।

Yamaha

श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, स्थानीय विकास मन्त्री लालबाबु पण्डित, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, नेत्री हिसिला यमी, नेकपाका महासचिव विष्णु पौडेल र नेकपाका नेता वामदेव गौतम अस्पताल पुगेका थिए ।

त्यस्तै, नेत्री पम्फा भुसाल, पूर्वसभामुख सुवास नेम्वाङ, राप्रपाका नेता पशुपतिशमशेर राणा, वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, वरिष्ठ न्यूरोसर्जन बिएन गंगोल, न्यूरो सर्जन वसन्त पन्त, डा मोहनराज शर्मा, डा गोविन्द केसी र प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले देवकोटाप्रति श्रद्धान्जलि व्यक्त गरेका थिए ।

डा देवकोटाका श्रीमती र तीन छोरी छन् ।

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

होस्टल : कतै विकृतिको अखडा त बन्दै छैन ? 

अपिलराज बोहरा

काठमाडौँ — राजधानी काठमाडौंमा होस्टेल व्यवसाय फस्टाईरहेको छ । प्रारम्भिक अनुमान अनुसार लगभग एक हजार होस्टेलहरु काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका छन् । तर होस्टलको संख्यात्मक बिस्तारसंगै अनेकौं चुनौतिहरु पनि बढ्दै गएको देखिन्छ ।

होस्टेल व्यवसायीमा देखिएको अस्वस्थ्य प्रतिष्पर्धा, होस्टेल एसोसिएसनको नेतृत्वमा देखिएको असक्षमता र आर्थिक संकीर्णता मात्रै समस्याको रुपमा छैनन् । सेवाग्राहीमा बढ्दो लागुऔषध तथा अन्य दुर्व्यसन, उनीहरुमा विकसित असामाजिक चरित्र, होस्टेल भित्र हुने चोरीका घटनाहरु पनि उत्तिकै छन् । यसका अलवा होस्टल गैरकानुनी तथा अवान्छित गतिविधिमा संलग्नहरुको सुरक्षित आश्रयस्थलको रुपमा समेत परिणत हुने सम्भावना होस्टल व्यवसायका चुनौतीका रुपमा रहेका छन् ।

लागूऔषध प्रमुख समस्या
होस्टेलमा करिब १८–३५ वर्ष उमेर समुहका युवाहरु सेवाग्राहीका रुपमा रहने गरेका छन् । घर परिवारसंग छुट्टिएर समकक्षी साथीहरुसँग बस्ने भएकोले सो समयमा साथीको प्रभाब अति नै बढी हुने गर्छ । त्यसैले कुनै एकजना लागु औषधको दुर्व्यसनमा फसेमा अन्य साथीहरुलाई समेत लागु औषधको कुलतमा फसाउने गरेको देखिन्छ । केही बर्षअघि लागु औषध नियन्त्रण ब्युरोले गरेको एक सर्बेक्षणलाई हेर्ने हो भने साथीको दवाव (पियर प्रेसर) को कारणले करिब २४ प्रतिशत युवाहरु लागु औषधहरुको दुर्व्यसनमा लागेको देखिन्छ । यस अलावा काठमाडौंमा लागु औषधको कारोबारीलेसमेत होस्टेललाई आश्रय बनाएर कारोबार गर्ने गरेको अनुसन्धानबाट देखिएको छ । लागु औषधका कारोबारीले होस्टेलमा बस्ने युवा जमातलाई लागु औषधको ग्राहक बनाउने र कतिपयलाई आर्थिक प्रलोभनमा पारेर लागूऔषधको ओसारपसार गर्ने भरिया र बिक्रेता बन्न उक्साउने गरेको पनि भेटिएको छ । यदी यहि अवस्था रहने हो भने कतै होस्टेलहरु लागूऔषधका अखडामा त परिणत हुने होइनन् ? सोचनीय बिषय बनेको छ ।

गर्ल्स होस्टेल र सामाजिक समस्या

काठमाडौंमा सञ्चालित गर्ल्स होस्टेलको सुरक्षा चुनौति अझ बिशेष प्रकृतिको छ । सामाजिक मर्यादामा आएको क्षयिकरणको कारणले गर्दा गर्ल्स होस्टेलमा बस्ने युवतीहरु दिनभर ‘अन्य प्रयोजन’को लागि बाहिर घुम्न जाने र बेलुका होस्टेलमा बास बस्ने संस्कार पनि केही घटनाहरुबाट सतहमा आएको छ । कतिपयले लुकिछिपी बनाएका ‘केटी साथी’लाई खर्च गरेर होस्टेलमा राख्ने र दिउँसो उनीहरुसँग घुमघाममा रम्ने गरेका उदाहरणसमेत भेटिएका छन् । उपत्यका बाहिरका कतिपय शहरका ब्यापारी र घरानाहरुले काठमाडौंका होस्टेलमा बसेका युवतीहरु खर्च गरेर बोलाउने गरेको समेत सुन्नमा आउनुले यसतर्फ गम्भीर बन्नै पर्ने देखिन्छ । कतै गर्ल्स होस्टेलहरु ‘कल गर्ल्स’ आपूर्ति गर्ने संस्था त बन्दै छैनन् ? यो प्रश्नको जवाफ अहिले नै खोजिएन भने व्यवसायिक मर्यादामा बसेर होस्टेल व्यवसाय मै भविष्य देखिरहेका शुध्द व्यवसायीहरुको लागिसमेत संकटका दिन आउन सक्छन् ।

नीतिगत अस्पष्टताको कारणले ब्वाइज होस्टेल र गर्ल्स होस्टेल समिपमा हुँदा त्यसले स्थानीय क्षेत्रमा बिबिध उच्छृङ्खल क्रियाकलाप र गतिविधिहरुले सामाजिक प्रदुषण उत्पन्न हुनपुगेको छ । कैयन स्थानहरुमा होस्टेलमा बस्ने छात्र–छात्राहरुको साँझ–बिहान गल्लीहरुमा देखिने आपत्तिजनक दृश्यले पारिवारिक सदस्यहरु समेत संगै हिड्न सकस पर्न थालेको गुनासो स्थानीयवासीले गर्न थालेका छन् । सुरक्षाको दृष्टिकोणले समेत गम्भिर समस्या निम्त्याएको ब्वाइज र गर्ल्स होस्टेल बीचको सामिप्यता होस्टेल सञ्चालन निर्देशिका २०६९ को पनि बर्खिलापमा छ । अनुगमनको कमी र सुरक्षाको उचित प्रबन्धको अभावमा रहेका गर्ल्स होस्टेलमा सुधार गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।

सुरक्षामा गम्भीर लापरबाही
लाखौको लगानीमा होस्टेल संचालन गरेको पाईन्छ, बिज्ञापनमा पनि खुलेर रकम खर्च गरेको देखिन्छ तर सुरक्षा सम्बन्धमा भने कत्ति पनि ध्यान पुगेको देखिंदैन । दैनिकजसो होस्टेलहरुमा मोबाईल हराउने, ल्यापटप चोरी हुने घटनाहरु भइरहेका छन् । अनाधिकृत ब्यक्तिहरुको आवतजावत हुने क्रम रोक्न सञ्चालकहरुले कुनै प्रभावकारी कदम चालेको देखिंदैन । गम्भिर खालको घटना हुँदापनि होस्टेलको ईज्जत र प्रतिष्ठाको बिषय बनाई प्रहरीकोमा खवर नगर्ने परिपाटी पनि रहेको छ । यसप्रकारका लापरवाहीले अन्तत: यो व्यवसायलाई नै धरापमा पार्छ भन्ने सामान्य ज्ञान व्यवसायीहरुमा नभएको पक्कै होइन तर पनि यसबारे व्यवसायीको गम्भिरता झल्किदैन ।

अस्वस्थ्य प्रतिष्पर्धा

व्यवसाय प्रतिस्प्रधात्मक बन्दै जाँदा होस्टेल ब्यवसायी बीच पनि बिभिन्न प्रकारका असमझदारी र बैमन्यता समेत श्रृजना भएको देखिन्छ । यसलाई न्यूनीकरण गर्न अहम् भूमिका निर्वाह गर्न सक्ने ब्यवसायीहरुको संगठन नेपाल होस्टेल एसोसिएसनको केन्द्रीय नेतृत्वमा नै यस्ता समस्या देखिनु चिन्ताको बिषय बन्दै गएको छ । एसोसिएसनको नेतृत्वका लागि भएको होडबाजीको अन्तर्यमा व्यवसायीको हक, हित र व्यवसायको गरिमा भन्दा व्यक्तिगत व्यवसाय बृद्धिको उदेश्य प्रमुख रुपमा रहेबाट नै समस्याको गम्भीरता आंकलन गर्न सकिन्छ ।

होस्टेल व्यवसायीहरुको निम्ती अझ चिन्ताको कुरा त यो देखिन्छ कि एसोसिएसनको केन्द्रीय नेतृत्व नै होस्टेल व्यवसायी भन्दा होस्टेल व्यापारीका रुपमा स्थापित छन् । अनि होस्टेलको किनबेचदेखि होस्टेल व्यवसायीलाई प्रदान गर्ने सहयोग र परामर्शमासमेत कमिसन लिने काम एसोसिएसनका नेताहरुले गर्दै आएका प्रमाणहरु फेला परेका छन् । हालसालै होस्टेल खरिद–बिक्रीमा बिचौलीयाको प्रबेश तथा गुण्डाको प्रयोगले किनबेचमा कुरा नमिल्दा ज्यान लिनेसम्मको धम्कि दिने प्रबृति बिकशित भएको प्रहरीको अनुसन्धानको क्रममा देखिएको छ ।

यस्तो बिकृतिजन्य स्थितिलाई समयमा नै नियन्त्रण र कानुनी दायरामा ल्याउन नसकिएमा भोलीका दिनमा होस्टेलको किनबेचमा कथित टोले गुण्डाहरुहाबीच नहोलान् भन्न सकिंदैन । होस्टेल अनुगमनको नाममा व्यवसायीबाट पैसा असुल्नेसम्मका गतिविधिमा एसोसिएसन सक्रिय रहिरहँदा यो व्यवसायमा झन् चुनौतिहरु बढेको स्पष्ट छ । एसोसिएसनको छातामुनि आवद्ध हुन होस्टेल व्यवसायीहरु आकर्षित नहुनुको प्रमुख कारण यहि नै रहेको देखिएको छ । त्यसो त होस्टेल ब्यवसायीहरुको छाता संगठनले पनि सबै होस्टेलहरुलाई करको दायरामा ल्याउन आवश्यक पहल गरेको छैन । होस्टेल संचालनमा एकरुपता आउन सकेको छैन भने अनियन्त्रित रुपमा च्याउ जस्तै बिना दर्ता संचालन गरीएका होस्टेलहरुले गर्दा स्थापित होस्टेलहरुको समेत प्रतिष्ठामा हिलो छ्याप्ने काम भैरहेको छ । अन्य होस्टेलमा बसिरहेका सेवाग्राहीहरुलाई आफ्नो होस्टेलमा आकर्षित गर्ने अस्वस्थ प्रतिष्पर्धा पनि धेरै नै बढेको देखिन्छ ।

सेवा र नाफा बीचको असन्तुलन
निश्चय नै होस्टेलले दुरदराजबाट काठमाडौं उपत्यकामा अवसरको खोजिमा आउनेहरुलाई सस्तो, सुलभ र घरायसी वातावरणमा सेवा प्रदान गरेको छ । नेपाल सरकारबाट लिईने बिभिन्न सरकारी सेवाका परीक्षा तथा बिभिन्न प्रकारका बृत्ति बिकासका लागि आवश्यक तालिममा सहभागी हुने कार्यथलोको रुपमा होस्टेल सेवाले पुऱ्याएको योगदान वास्तवमा अतुलनीय छ । सामाजिक र सांस्कृतिक अन्तरघुलनको लागि उपयुक्त थलोको रुपमा होस्टेलले आफुलाई स्थापित गरेको छ । पारिवारिक वातावरण, सुरक्षाको प्रत्याभुति र उपलब्ध सेवा सुबिधाको कारण पनि लामो समय राजधानी बस्नु पर्नेहरुले होटलको सट्टा होस्टेललाई रोज्ने गरेको देखिन्छ । डेरामा बस्नु भन्दा सहज र कोठा भाडामा नपाइने समस्याको उपयुक्त विकल्प पनि बनेको होस्टेल सेवाग्राहीको महानगरको बसाइलाई सहज बनाएको यथार्थलाई पनि भुल्नु हुँदैन ।
फेरिपनि व्यवसाय र रोजगारी श्रृजनाको नाममा सञ्चालन गरिएका यस्ता होस्टेलहरुमा गैरकानुनी क्रियाकलाप सञ्चालन भईरहेको सत्य सबैले स्वीकार्नु पर्छ । यो आलेखको उदेश्य होस्टेल व्यवसायीहरुलाई संगठित रुपमा आक्षेप लगाउने कदापी होईन तथापी गैरव्यवसायिक क्रियाकलापहरुलाई समयमा नै निस्तेज पारिएन भने होस्टेलको गरिमा र व्यवसायमासमेत गम्भिर प्रश्न चिन्ह खडा हुन जाने यथार्थ निर्विवाद छ । त्यसैले होस्टेल व्यवसायलाई नाफामुखी भन्दा सेवामुखी बनाउने र यसको सामाजिक गरिमालाई उच्च राख्ने कुरामा आम होस्टेल व्यवसायीले आजैबाट लाग्नुपर्ने देखिन्छ । यसका लागि सेवा र नाफा बीच सन्तुलन राख्ने जिम्मा व्यवसायीको नै हो ।
apilbohara@gmail.com

लेखक प्रहरी अधिकत हुन् ।

प्रकाशित : असार ५, २०७५ १६:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्