कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पृथ्वीनारायण शाहको पाउ परे पारस शाह (फोटो फिचर)

हरिराम उप्रेती

गोरखा — पुर्ख्यौंली थलो अवलोकन गर्न पुर्व युवराज पारस शाह गोरखा आइपुगेका छन् । मंगलबार मनकामना मन्दिरको पुजा गरेका शाहले बुधबार गोरखकालिका र गोरखनाथ मन्दिरमा विशेष पुजा गर्नुका साथै अवलोकन गरे ।

उनले गोरखा दरबार पुनर्निणबारे चासो समेत राखेका थिए । शाह वंशीय राजा पृथ्वीनारायण शाहसम्मले गोरखा दरबारबाट तत्कालीन समयमा शासन सञ्चालन गरेका थिए । नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाह जन्मिएको ठाउँ पनि गोरखा दरबार भएकाले पारस शाहले निकै चासो दिएर दरबारको अवलोकन गरेका हुन् ।  

उनले बुधबार नै गोरखा संग्रहालयको पनि अवलोकन गरेका छन् । संग्रहालय परिसरमा रहेको हातहतियार कक्षमा उनले निकै बेर गुजारे । पुरातात्विक हातहतियारबारे शाहले जानकारी समेत लिए । शाह वंशीय राजाहरुको परिचय कक्ष, बाजा कक्ष, तान्त्रिक मालाबारेमा उनले गोरखा संग्रहालयका कर्मचारीसँग जानकारी लिए ।

संग्रहालयको अवलोकन पश्चात संग्रहालय परिसरमा रहेको पृथ्वीनारायण शाह शालिक घुमेर उनी फर्किए । गणतन्त्र स्थापनापछि पारस शाह पहिलोपटक गोरखा आएका हुन् । ‘नितान्त धार्मिक उद्देश्यले आउनुभएको हो,’ स्थानीय होम सिं बस्न्याताले भने । उनका समर्थकले संग्रहालय परिसरमा राजसंस्थाको समर्थनमा नाराबाजी समेत गरे ।

राजतन्त्रको समयमा प्रत्येक वर्ष राजपरिवारका सदस्य आएर पुजा गर्ने गरेपनि गणतन्त्र स्थापनापछि राजपरिवारको सदस्यहरुको गोरखा आगमन पातलिएको छ । उनलाई पन्चेबाजा र मोटरसाइकल र्‍याली सहित उनका शुभेच्छुकहरुले गोरखा दरबारसम्म पुर्‍याएका थिए । तत्कालीन शाह वंशीय राजाहरुले कुलदेवी कालिका र इष्ट देवताको रुपमा गोरखनाथलाई लिने गर्छन् । 

प्रकाशित : असार ६, २०७५ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्