१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

स्यार्पूतालमा मन्त्री सहित माननीयको र्‍याफ्टिङ

हरि गौतम

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिकास्थित स्यार्पूतालमा मंगलबार कर्णाली प्रदेशका मन्त्री सहित ७ माननीयले र्‍याफ्टिङ गरेका छन् । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल सहित प्रदेश सभाका अन्य ७ सदस्यहरुले स्यार्पूतालमा र्‍याफ्टिङ गरे । एक कार्यक्रमको सिलसिलामा बाँफिकोट गाउँपालिका पुगेका उनीहरुले मंगलबार बिहान र दिउँसो गरी २ पटक र्‍याफ्टिङ गरेका थिए ।

बाँफिकोट गाउँपालिका–३ र ५ नम्बर वडामा फैलिएको तालमा र्‍याफ्टिङ गर्दा रमाइलो भएको माननीयहरुको प्रतिक्रिया थियो । मन्त्री रावल सहित प्रदेश सभा सदस्य सीता नेपाली, रातो कामी, देवी ओली झुपा विक, राजु नेपाली, दानसिङ परियार सहित जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपप्रमुख इन्दिरा विएम, आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले स्यार्पूतालमा र्‍याफ्टिङ गरेका थिए ।

स्यार्पूताल वरीपरी थोरै भएपनि भौतिक पूर्वाधार विकास र राम्रो व्यवस्था सहितको होटेलको व्यवस्था भए पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने मन्त्री रावलले प्रतिक्रिया दिए । सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित रातो कामीले स्यार्पूतालको प्रचार प्रसार र त्यस क्षेत्रको पर्यटकीय विकासका लागि बजेटको साथै कर्णाली प्रदेशका हरेक मन्त्रीलाई स्यार्पूतालमा पुर्‍याएर भएपनि तालको प्रचार प्रसारमा सघाउने बताए । तालमा काठ र रबरका डुङ्गा छन् । केही वर्षयता स्यार्पूतालमा व्यवसायिक रुपमा र्‍याफ्टिङ थालिएको थियो ।

प्रकाशित : असार ६, २०७५ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्