२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

काठमाडौंमा जंगबहादुरको जार ! [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — जहानियाँ राणा शासनको जग बसाल्ने जंगबहादुरको मृत्युसम्बन्धी थुप्रै रहस्यमय प्रसंग छन् । कतै एक्कासी रगत छादेर मृत्यु भएको सन्दर्भ छ, कतै बाघले झम्टेर । सर्लाहीको पत्थरघट्टामा जंगबहादुरलाई तामाङ जारले काटेको प्रसंगमाथि संस्कृतिविद् एवं अन्वेषक रवीन्द्र ग्याबाक तामाङले पुस्तकै लेखेका छन् ।

इतिहासकार ज्ञानमणि नेपालले पनि जारको सन्दर्भ उल्लेख गर्दै ‘हिमाल’ खबर पत्रिकामा लेखेका छन्- ‘जंगको मृत्युबारे कसैले सेतो बाघको कल्पना गरेका छन् भने कसैले मगर्नी ल्याएकाले जारले काटेको भनेका छन् ।’

जारले काटेको यही कथामा आधारित नाटक ‘सोनाम ग्याल्मो’ यति बेला राजधानीको शिल्पी थिएटरमा नियमित मञ्चन भइरहेको छ । दुई वर्ष लामो अनुसन्धान र अध्ययनपछि सञ्चारकर्मी एवं नाटककार फूलमान वलले लेखेको नाटकले जंगबहादुरलाई जारले काटेको तामाङ मिथलाई समातेको छ । मिथलाई अहिलेको जीवनसँग जोडेर रंगमञ्चमार्फत पुरानो समयलाई पुनर्ताजगी गर्न नाटक सफल देखिन्छ । सोनाम मोक्तान निर्देशित नाटकमा तामाङ समुदायको विवाहमा प्रचलित ‘चारदाम’ संस्कृतिलाई कथावाचनको शैलीका रुपमा अपनाइएको छ ।

विवाहमा बेहुला र बेहुली राखेर चारदाम (वैवाहिक जीवनको कसम खुवाउने विधि) गर्दैगर्दा नाटक फ्लासब्याकमा जान्छ । त्यसपछि पत्थरघट्टा आसपासको पुरानो तामाङ समाज र जीवनको उत्तरार्द्धमा त्यही ठाउँमा सिकार खेल्न गएका जंगबहादुरबीचको संघर्षले नाटकलाई गति प्रदान गर्छ । मुख्यपात्र छन् भर्खरै विवाह भएका सोनाम र ग्याल्मो । ग्याल्मोलाई जंगबहादुरले मन पराएर हरण गरेपछिको पीडादायी सन्दर्भ र उनैले बनाएको ‘जार काट्ने कानुन’ मा टेकेर आइपुग्ने सोनामबीचको उतारचढाव नाटकमा हेर्न सकिन्छ ।

जंगबहादुर कसरी मरे ? त्यो भने रहस्यमै छाडिएको छ । तामाङ संस्कृति, परम्परा र जीवनशैलीको सघनतामा सजिएको नाटकमा तामाङ फिल्मकी चर्चित नायिका चाँदनी लामा, सेलो गायक एवं संगीतकारद्वय फूलकुमार बम्जन र सुसन लामाको पनि अभिनय छ ।

मुख्यपात्र सोनाममा निर्देशक स्वयंले खेलेका छन् भने ग्याल्मोको भूमिकामा शान्ति वाइबा छिन् । यसबाहेक निकिता वाइबा, निशा पाख्रिन, मातृका घिमिरे, मनोज तामाङ, सन्तोष तामाङ (बोन्बो), सन्जीव राई, देविन चौधरी, विजय टुबा, सुनिल तामाङ, साजन लामाले अभिनय गरेका छन् ।

सेलो थिएटरको प्रस्तुति रहेको नाटक मंगलबारबाहेक हरेक दिन साँझ ५ बजे नियमित मञ्चन भइरहेको छ । नाटक असार २५ सम्म मञ्चन हुनेछ । तस्बिरहरु : बिजु महर्जन

प्रकाशित : असार २०, २०७५ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्