२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

विद्युतीकरण पछि यस्तो देखिनेछ जानकी मन्दिर

अजित तिवारी, सन्तोष सिंह

जनकपुर — जानकी मन्दिरलाई विद्युतीकरणमार्फत सौन्दर्यकरण गरिने भएको छ । गैरआवासीय नेपाली संघ(एनआरएन)को करिव ५ करोड रुपैयाँको लगानीमा जानकी मन्दिरलाई झकिझकाउ बनाउन लागिएको हो ।

सोमबार आयोजित कार्यक्रममा जानकी मन्दिर छुठ गुठी र एनआरएनबीच मन्दिरको सौन्दर्यकरण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास र एनआरएनका अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मंसिरमा हुने विवाहपञ्चमीको दिन जानकी मन्दिरमा गरिने विद्युतीय सौन्दर्यकरणको उदघाटन गरिने सम्झौतापत्रमा उल्लेख छ ।

जनकपुरको जानकी मन्दिर मुलुककै ऐतिहासिक, सांस्कृतिक र धार्मिक धरोहर रहेकाले पर्यटकलाई अझ आकर्षित गर्न विद्युतीकरणबाट सुन्दर बनाउने प्रयास गरिएको एनआरएनका अध्यक्ष भट्टले बताए । जानकी मन्दिर परिसरमा प्रकाश प्रज्जवलित गर्न एनआरएनले विस्तृत योजना तयार पारेको छ । जानकी मन्दिरमा गरिने विद्युतीयकरण सोलर र विद्युत दुवैबाट सञ्चालित हुने छ ।

एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विद्युतको सौन्दर्यकरणले जानकी मन्दिरको गरिमा र सौन्दर्यलाई अझ बढाउने बताए । उनले मुलुकको अन्य सहरले नक्कल गर्ने खालको विकास जनकपुरमा हुनुपर्ने बताए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिर देशकै धरोहर रहेकाले यसको सौन्दर्यकरणपछि झन् आकर्षक देखिने र विश्वभरका पर्यटक यहाँ लोभिने बताए । जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दासले जानकी मन्दिरको सौन्दर्यकरणपछि त्यसको रेखदेखका लागि सरकारले छुट्टै निकाय गठन गर्नुपर्ने माग गरे ।

जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जनकपुर सहरको सौन्दर्यकरणमा जानकी मन्दिरमा लगाइने विद्युतीय उपकरणले थप मदत पुग्ने बताए । एनआरएनका सल्लाहकार रामेश्वर साहले पहिलो चरणमा जानकी मन्दिरको विद्युतीय सौन्दर्यकरण र अर्को चरणमा विवाह मण्डप तथा वाटर फाउन्टेन पार्क निर्माणका लागि पनि एनआरएन सहयोग गर्ने वचन दिए ।

प्रकाशित : असार २५, २०७५ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्