१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जोडिँदै खाँदबारी-किमाथांका (फोटोफिचर)

दीपेन्द्र शाक्य

संखुवासभा — भोटखोलाको दुर्गम मानिएको हटिया गाउँ जोड्ने १ सय ३३ किलोमिटर सडक निर्माण भएको छ । उत्तर–दक्षिण कोशी सडक योजनाले हिउँदमा सदरमुकाम खाँदबारीबाट हटियासम्म यातायातका साधन लैजान सकिने जनाएको छ । यो सडकमा यातायात सञ्चालन आएपछि किमाथांका जोड्न १४ किलोमिटर मात्रै बाँकी रहनेछ ।

किमाथांका जोड्न बाँकी काम तीव्र गतिमा भएको योजना प्रमुख पशुपति ज्ञवालीले बताए । उनका अनुसार खाँदबारी एकुवा–हटिया खण्डमा सडकको काम स्वच्छन्द, याक्थुम्हाङ र पुष्पाञ्जली जेभीले गरिरहेका छन् । हटिया चेपुवा खण्डमा गजुरमुखी, मोतिदान, गिताञ्जली जेभी र कञ्चनजंघा, गजुरमुखी र मोतिदान जेभीले तीव्र गतिमा ट्रयाक खोल्ने काम गरेका छन्

सिम्बुङ–हटिया खण्डको ट्रयाक खोल्ने, बरुण सिम्बुङको रेखांकन विवाद, अलैची तथा गुम्बामा देखिएको समस्या समाधान गरेर सडकको काम अघि बढाइएको उनले बताए । ‘वर्षा सकिएपछि हटियासम्म सजिलै सवारीसाधन पुग्छन्,’ उनले भने, अब एकै दिनमा त्यहाँका बासिन्दा ओहरदोहर गर्न सक्छन् । भर्खरै ट्रयाक खोलेका कारण वर्षात्‌मा भने यो साल यातायात सञ्चालन नहुने उनले बताए ।

कडा चट्टान र भीरमा बाँकी १४ किलोमिटरमा बिस्फोटक पदार्थ आवश्यक भएकाले खरिद प्रक्रिया अघि बढाएको ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार चेपुवा, छुमसुर घोङगोप्पा खण्ड निर्माणका लागि बिस्फोटक पदार्थ आवश्यक पर्नेछ । खाँदबारी–किमाथांका सडकको लम्बाई १ सय ६२ किमि हो । किमाथांका तर्फबाट पनि १४ किमि सडक निर्माण गरिसकिएको उनले बताए । ‘बीचमा पर्ने चेपुवा, छुमसुर घोङगोप्पा खण्ड निर्माण भए किमाथांका पुगिन्छ,’ उनले भने, ‘तीव्र गतिमा काम गरेर अर्कोवर्ष खाँदबारी किमाथांका जोड्ने प्रयत्नमा छौं ।’

सडकले खाँदबारी-किमाथांका जोडिन लागेपछि भोटखोला गाउँपालिका–३ का वडाअध्यक्ष आन्दी भोटे भोटखोलाबासीको दुखका दिन गएको बताउँछन् । अहिले पनि वर्षात्‌को समयमा सदरमुकाम पुग्न ५ दिन हिँड्नु परेको बताउँदै उनले भने, ‘यो १४ किलोमिटर निर्माण भए वर्षमा ८ महिना सहज ढंगले गाडी चढ्न पाइन्छ । वर्षात्‌का केही महिना दुःख गर्नु परेपनि बाँकी ८ महिना भोटखोलाबासीका लागि खुसीको कुरा हुनेछ ।’

यही १४ किलोमिटरले मात्र किमाथांका जोडिन समस्या भएको उनले बताए । निर्माण व्यवसायीले खच्चडमा तेल, ग्याविन र निर्माण सामाग्री ढुवानी गरेर सडक निर्माणमा तीव्रता दिएको भोटेले बताए ।

प्रकाशित : असार २६, २०७५ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्